चितवन । चालु आर्थिक वर्षको साउनदेखि जिल्लामा रहेका २२६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीले जग्गाधनी पुर्जा पाएका छन् ।
भूमि समस्या समाधान आयोगले यहाँका चार हजार ७४३ कित्ताबाट ३४ हजार २९५ हेक्टर क्षेत्रफल नाप नक्सा गरेको थियो । राप्ती, खैरहनी, रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकामा ती भूमिहीनहरूलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउन थालिएको हो ।
आयोगका अध्यक्ष इमानसिंह मुक्तानका अनुसार यही आर्थिक वर्षमा २५० हाराहारी पुर्जा निर्माण गरी वितरण गर्ने तयारी गरिएको छ । यस वर्ष जग्गाधनी प्रमाण पुर्जा वितरणबाट रु १४ करोड ७२ लाख ७५ हजार ३५० राजस्व संकलन गरिएको उनले जानकारी दिए।
पुराना अयोगहरूबाट नापी नक्सा भई अधुरो रहेका कामबाट सो राजस्व संकलन भएको हो । नापी नक्सा, फिल्डबुकमा नाम भएका व्यक्तिलाई आवासीय हकमा एक हजार वर्गमिटरसम्म मालपोतको मूल्यांकनको १० प्रतिशत राजस्व बुझाउनुपर्ने हुन्छ । यस्तै कृषि क्षेत्रका लागि एक हजार ७०० वर्गमिटरसम्म पाँच प्रतिशत र त्यसभन्दा बढीमा १० प्रतिशत राजस्व बुझाउनुपर्ने हुन्छ ।
उनले भने, “अहिले पुर्जा वितरणको कामसहित अन्य कानुनी बाधा हटाउन अन्तरक्रिया र बैठकहरू भइरहेका छन् ।” पुर्जा वितरणसँगै नापजाँच र राजस्व संकलन पनि तीव्र बनाइएको उनले बताए । उनले थपे, “अन्य जिल्लाको तुलनामा यस जिल्लामा काम तीव्र पारिएको छ ।”
आयोगले गत आर्थिक वर्षको वैशाखमा ३०५ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थितलाई पुर्जा वितरण गरेको थियो । जिल्लामा विभिन्न समयमा बनेका आयोगमा जग्गाधनी पुर्जाका लागि ४० हजार हाराहारीले निवेदन दिएको उनको भनाइ छ ।







