सांसदहरूलाई रास्वपाको निर्देशन : आफूलाई माननीय नभन्‍नू, कागजातमा पनि नलेख्नू

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै सांसदहरूलाई कुनै पनि कागजातमा माननीय भनेर सम्बोधन नगर्न निर्देशन दिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको बुधबार बसेको संसदीय दलको बैठकमा सांसदहरूलाई यस्तो निर्देशन दिइएको हो ।

‘रास्वपाका सबै सांसदहरूको लेटर हेड र कार्ड लगायत कागजातमा एक रूपता अपनाउन निर्देशन जारी भएको छ’, एक सांसदले भने, ‘आफ्नो कुनै कागजातमा माननीय सम्बोधन नगर्नसमेत निर्देशन दलको कार्यालयबाट आएको छ।’

बैठकमा सभापति रवि लामिछानेले अझै धेरै कुरा सिक्न बाँकी रहेको बताउँदै सल्लाहकारहरूको अभ्यास गरेर उनीहरूबाट सुझाव लिन पनि उल्लेख गरेका छन्।

‘हामीले धेरै कुराहरू सिक्न बाँकी छ । तसर्थ सबै सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न र सकेजति सल्लाह र सुझाव लिन भनिएको छ’, रविको निर्देशनबारे ती सांसदले भने ।

रास्वपाले पछिल्लो समय ओखलढुंगाका सांसद विश्वराज पोखरेलसहितले आफूलाई माननीयका रुपमा प्रस्तुत गर्दै विवादमा तानिएपछि यस्तो कदम चालेको हो ।