काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने विशेष दूत सजियो गोर ६ सदस्यीय प्रतिनिधिमण्डलसहित काठमाडौँ आइपुगेका छन्। तीन दिने औपचारिक नेपाल भ्रमणका क्रममा गोर बिहीबार साँझ काठमाडौँ अवतरण गरेका हुन्।

नेपाल बसाइका क्रममा उनले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ। भ्रमण तालिकाअनुसार गोरले अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य र क्षेत्रीय सुरक्षालगायत विषयमा छलफल गर्नेछन्। यी भेटवार्तालाई नेपाल–अमेरिका सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा हेरिएको छ।

त्यसैगरी, उनले नेपाली सेनाका प्रधानसेनापति अशोक्राज सिग्देलसँग पनि भेट गर्ने स्रोतको दाबी छ । उक्त भेटमा सुरक्षा सहकार्य, सैन्य तालिम तथा रणनीतिक साझेदारीका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। नेपाल र अमेरिकाबीच पछिल्ला वर्षहरूमा सुरक्षा तथा विकास सहकार्य विस्तार भइरहेका बेला गोरको भ्रमणलाई महत्वपूर्ण मानिएको छ। यसअघि पनि अमेरिकी उच्च अधिकारीहरूको नेपाल भ्रमण भइरहेको छ। गत अप्रिल २० मा अमेरिकी सहायक विदेशमन्त्री समीर पाउलले नेपाल भ्रमण गरेका थिए। त्यसको निरन्तरताका रूपमा गोरको भ्रमणलाई हेरिएको छ ।

हाल भारतका लागि अमेरिकी राजदूतको जिम्मेवारीसमेत सम्हालिरहेका गोर राष्ट्रपति ट्रम्पका विश्वासपात्र कूटनीतिज्ञका रूपमा चिनिन्छन्। दक्षिण एशियाली क्षेत्रमा अमेरिकी चासो र रणनीतिक उपस्थिति सुदृढ गर्न उनको भूमिका महत्वपूर्ण मानिन्छ।

गोरको भ्रमणले नेपालमा नयाँ सरकार गठनपछिको कूटनीतिक सम्बन्धलाई थप गति दिने अपेक्षा गरिएको छ। गत फागुन २१ को चुनावपछि बालेन शाह नेतृत्वमा सरकार गठन भएपछि नेपाल भ्रमणमा आउने उनी सबैभन्दा उच्च तहका अमेरिकी कूटनीतिज्ञ हुन्। यसले नयाँ सरकारसँग अमेरिका कति निकट रूपमा सहकार्य गर्न इच्छुक छ भन्ने संकेत पनि दिएको छ।

यद्यपि, गोर र प्रधानमन्त्री शाहबीच औपचारिक भेटवार्ता हुने वा नहुने विषयमा भने अहिलेसम्म स्पष्ट भइसकेको छैन ।