म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालिएको छ । धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन तीन वटा जलविद्युत् आयोजनाले उत्पादन गर्ने विद्युत्लाई राष्ट्रिय प्रणालीमा जोड्न संयुक्त रूपमा ‘डबल’ र ‘मल्टी’ सर्किट प्रसारण लाइन बनाउन सुरु गरिएको हो ।

धवलागिरि गाउँपालिका–४ जेल्तुङदेखि वडा नं ३ र ७ हुँदै मालिका गाउँपालिका–७ मा रहेको नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत सबस्टेसन जोड्ने १६ दशमलव ४८ किलोमिटर लामो प्रसारण लाइन निर्माण हुन लागेको हो ।

यस आयोजनाबाट तीन वटा आयोजनाबाट उत्पादन हुने १६४ दशमलव ७५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिने माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी हाइड्रो इम्पाएरका सञ्चालक पूर्णबहादुर पुनले बताए ।

कुल ६५ मेगावाट क्षमताको म्याग्दीखोला, ४६।२५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी र ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले साझेदारी गरेर बनाउन लागेको आयोजनाको ५७ वटा टावर निर्माण हुनेछन् ।

कुल रु ४२ करोड ६२ लाख लागत अनुमान गरिएको आयोजना निर्माणका लागि आठ दशमलव ४० हेक्टर निजी र २१ दशमलव ९९ हेक्टर राष्ट्रिय वनको जग्गा प्रयोग हुनेछ ।

सार्वजनिक वन प्रयोग गरेबापत सरकारलाई जग्गा सट्टाभर्ना गरिने, टावर रहने निजी जग्गा खरिद तथा प्रसारण लाइनको क्षेत्राधिकारमा पर्ने जग्गाका धनीहरूलाई क्षतिपूर्ति उपलब्ध गराइने आयोजनाले जनाएको छ ।

आयोजना निर्माणका क्रममा हुन सक्ने वातावरणीय प्रभाव न्यूनीकरणका लागि रु ४१ लाख ७५ हजार र सामाजिक सहयोग कार्यक्रमका लागि रु २१ लाख ३१ हजार रकम प्रस्ताव गरिएको छ ।

प्रभावित क्षेत्रका बासिन्दाको सुझाव समेटेर वातावरणीय परीक्षण प्रतिवेदन पारित भएपछि निर्माण सुरु हुने प्रसारण लाइन आयोजना आठ महिनामा सम्पन्न गरिने म्याग्दीखोला जलविद्युत् आयोजनाका प्रमुख उत्तम पौडेलले बताए ।

विसं २०८१ असोज ६ गते सर्वेक्षण अनुमति प्राप्त भएको म्याग्दी कोरिडोर प्रसारण लाइन आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षणको कार्यसूची ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट २०८१ साल चैत १२ गते स्वीकृत भएको थियो ।