अमेरिका पुर्‍याइएको बुद्ध मूर्ति बज्रधातु विहारमा पुन:स्थापना

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२३ जोरगणेश ओमबहाल टोलको न्हुछे बहा(बज्रधातु विहार) बाट चोरी भएको पुरातात्त्विक तथा धार्मिक महत्त्व बोकेको प्रस्तर बुद्ध मूर्ति आफ्नै आसनमा फर्काइएको छ ।

संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित टिवेट हाउस कलेक्सनमा पुगेको यो मूर्ति २०७८ साल फागुन १८ गते नेपाल फिर्ता ल्याइएको थियो । पुरातत्त्व विभाग, नेपाली सम्पदा अभियन्ताहरूले मूर्ति फिर्ता ल्याउने प्रक्रियामा आफूलाई समर्पित गरेपछि फिर्ता भएको मूर्ति राष्ट्रिय सङ्ग्रहालयमा राखेर संरक्षण गरिएको थियो ।

शुक्रबार वैशाख १८ गते बुद्ध जयन्तीको अवसर पारेर विहारमा मूर्तिलाई मूल आसनमा पुन:स्थापित गरिएको हो ।

हनुमानढोकाबाट विहारमा मूर्ति लैजाँदा कार्यवाहक प्रमुख सुनिता डंगोल, वडा न २३ वडाध्यक्ष मचाराजा महर्जन, सदस्यहरु, सम्पदा अभियन्ताहरु, गुठि खल पुचका प्रतिनिधिहरूले बाजागाजासहित उत्सव गरेकी थिइन् ।

त्यस अवसरमा कार्यवाहक प्रमुख डंगोलले मूर्तिहरूको सुन्दरता बस्ती र चोकहरूमा हुने बताइन् । “नेपाल मण्डलभित्रका मूर्तिहरू केवल आकृति मात्र होइनन् । यी हरेक मूर्तिमा प्राण हुन्छ । हरेक मूर्तिसँग सामाजिक जीवनको गहिरो आत्मीय सम्बन्ध हुन्छ । यी मूर्तिको संरक्षणका लागि स्थानीयहरू सचेत हुनुहुन्छ । महानगरपालिकाका तर्फबाट हामीले गर्नुपर्ने काम पूर्ण प्रतिबद्ध भएर गर्नेछौँ”, उनले भनिन् ।

मूर्ति पुन:स्थापनाले वडाको सांस्कृतिक पहिचान अभिवृद्धिका लागि ठूलो योगदान पुगेको अध्यक्ष महर्जनले उल्लेख गरिन् । राष्ट्रिय सङ्ग्रहालयका प्रमुख अरुण नकर्मीले सम्पदा संरक्षणमा स्थानीय सरकार समुदायका बीच समन्वय उत्कृष्टताको नमूना भएको उल्लेख गरिन् । सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठ र सञ्जय अधिकारीले विदेशमा बेचिएका प्राचीन कला फिर्ता ल्याउने काममा थप उत्साह बढेको बताइन्।

चोरिएका मूर्ति तथा कलात्मक वस्तुलाई मूल स्थानमा पुन:स्थापना गरेको यो तेस्रो सम्पत्ति हो । यसअघि कुमारी घरको तोरण र ग:गुठि सूर्यमुखी महादेव मन्दिर परिसरमा रहेको महागौरी/पार्वतीको मूर्ति पनि मूल आसनमा फर्काइसकिएको छ ।

यसरी मूर्ति फिर्ता गराउन काठमाडौँ महानगरपालिकाले सरोकारवाला तथा साझेदार कार्यालयका प्रतिनिधिहरूसँग छलफल, कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्ने गरेको छ ।

सयुक्त अधिराज्य बेलायतबाट फिर्ता गरिएको तोरण कुमारी घरमा पुनस्थापित वसन्तपुरमा रहेको जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण २०८२ मंसिर ५ गते पुन:स्थापित गरिएको थियो ।

त्यस्तै २०८३ वैशाख ५ गते विश्व सम्पदा दिवसको अवसर पारेर राष्ट्रिय सङ्ग्रहालय, छाउनीमा राखिएको १३औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति वडा नं.२० मरुस्थित ग:गुठि सूर्यमुखी महादेव मन्दिर परिसरको आफ्नै आसनमा पुनस्थापित गरिएको थियो । मूर्तिको नाप ६८.५ सेन्टिमिटर उचाइ र ३०.५ सेन्टिमिटर चौडाइको छ ।

चोरी भएको मूर्ति बेलायत पुर्‍याइएको थियो । त्यहाँबाट २०५२ सालमा फिर्ता गरेर राष्ट्रिय सङ्ग्रहालय छाउनीको जुद्धजातीय कलाशालामा राखिएको थियो । त्यहाँबाट काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गत, वडा नं २० का अध्यक्ष राजेन्द्र मानन्धर, सम्पदा अभियानकर्ताद्वय गणपतिलाल श्रेष्ठ र अधिवक्ता सञ्जय अधिकारीले मूर्ति बुझेर फिर्ता ल्याएका थिए ।

सङ्ग्रहालयका प्रमुख अरुण नकर्मी, हनुमानढोका हेरचाह अड्डाका प्रमुख काजीमान प्याकुरेल, राष्ट्रिय सङ्ग्रहालयका सङ्ग्रहालय अधिकृत सुवासकृष्ण डंगोल र पुतुरात्व विभागका पुरातत्त्व अधिकृत अमृता महर्जनको रोहवरमा सङ्ग्रहालयका भण्डारे विन्दा श्रेष्ठ र सहायक पथ प्रदर्शक उषाकुमारी सिंहले मूर्ति बुझाएका थिए ।