फोटोपत्रकार प्रदीपराज वन्तलाई ‘वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डन’द्वारा सम्मान

काठमाडौं – अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डनले नेपालका वरिष्ठ फोटोपत्रकार तथा राष्ट्रिय समाचार समिति (रासस) का फोटो पत्रकार प्रदीपराज वन्तलाई ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ प्रदान गर्दै सम्मानित गरेको छ।

नेपालको सामाजिक, राजनीतिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रको प्रवर्द्धनमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो। यो सम्मान सन् २०२६ अप्रिल ३० मा काठमाडौंमा आयोजित २०औँ अन्तर्राष्ट्रिय समिट तथा अवार्ड समारोहका अवसरमा प्रदान गरिएको हो।

उक्त सम्मानले वन्तको दीर्घकालीन व्यावसायिक यात्रा र योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरेको छ। दुई दशकभन्दा बढी समयदेखि फोटो पत्रकारितामा सक्रिय वन्तले आफ्नो क्यामेरामार्फत नेपाली समाजका विविध पक्षलाई उजागर गर्दै आएका छन्।

हाल उनी राष्ट्रिय समाचार समिति (रासस) मा वरिष्ठ फोटोपत्रकारका रूपमा कार्यरत छन् भने राष्ट्रिय फोटो पत्रकार समूह नेपालको केन्द्रीय अध्यक्षको जिम्मेवारी पनि सम्हालिरहेका छन्।

फोटो पत्रकारिताको विकास र प्रवर्द्धनमा उनले देशका विभिन्न प्रदेश तथा जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै नयाँ पुस्ताका पत्रकार तथा फोटोग्राफरहरूलाई दक्ष बनाउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

यसअघि उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको सचिवालयमा फोटोपत्रकारको रूपमा कार्य गरिसकेका छन्। साथै, निर्वाचन आयोग, नेपालमा आधिकारिक फोटोग्राफरका रूपमा दुई पटक सेवा दिएका छन्।

उनले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका छन्। पूर्वराष्ट्रपति विद्या देवी भण्डारीबाट ‘बेस्ट फोटो जर्नालिस्ट अफ द इयर २०१६’ सम्मान प्राप्त गर्नुका साथै अन्य संस्थाहरूबाट पनि प्रशंसा र सम्मान पाएका छन्।

त्यसैगरी उनले बंगलादेशको ढाकामा आयोजित ‘इम्पेरियल फोटो जर्नालिज्म अप्रिसिएसन’ बाट पनि सम्मान प्राप्त गरेका छन्, जसले दक्षिण एशियाली फोटो पत्रकारिता क्षेत्रमा उनको योगदानलाई थप स्थापित गरेको छ।

फोटो पत्रकारिता, प्रशिक्षण, इभेन्ट व्यवस्थापन तथा शैक्षिक क्षेत्रमा सक्रिय वन्त बहुआयामिक व्यक्तित्वका रूपमा परिचित छन्। उनको योगदानले नेपालको फोटो पत्रकारिता क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण टेवा पुगेको सरोकारवालाहरूले बताएका छन्।

उक्त कार्यक्रममा विभिन्न देशका कला, साहित्य, स्वास्थ्य, सुरक्षा, पर्यटन, आध्यात्मिकता तथा उद्यमशीलता लगायतका क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

सम्मानित हुने नेपालीहरूमा कला तथा सांस्कृतिक क्षेत्रका अग्रज मदनकृष्ण श्रेष्ठ र बसुन्धरा भुसाल, नृत्य निर्देशनमा योगदान पुर्‍याएका बसन्त श्रेष्ठ तथा चलचित्र निर्देशक तुलसी घिमिरे रहेका छन्।

स्वास्थ्य तथा शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने डा. प्रेम शाह, डा. शान्तिनाथ श्रेष्ठ, डा. ओजस्वी शेरचन लगायतका साथै भारतीय चिकित्सकहरू पनि सम्मानित भएका छन्।

सुरक्षा तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने कल्याण कुमार तिमिल्सिना, सांसद तथा आरोही मिङ्मा डेभिड शर्मा र सांसद धनञ्जय रेग्मी पनि कार्यक्रममा सम्मानित भएका छन्।

त्यसैगरी साहित्य तथा सिर्जनात्मक क्षेत्रमा उषा शेरचन, फेसन कोरियोग्राफर रोजिन शाक्य तथा चलचित्र तथा कला क्षेत्रमा योगदान पुर्‍याउने मनीषा कोइराला र फिल्म निर्माता विष्णु गोपाल श्रेष्ठलाई पनि अवार्ड प्रदान गरिएको थियो।

कार्यक्रमले विभिन्न देशबीच सांस्कृतिक, सामाजिक तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको आयोजकले जनाएको छ।