१६ युरोपेली देशसँग श्रम सम्झौता अघि बढाउने सरकारको तयारी

काठमाडौँ । सरकारले युरोपेली मुलुकहरूसँग श्रम सम्झौता विस्तार गर्ने प्रक्रिया अघि बढाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १६ वटा युरोपेली देशसँग द्विपक्षीय श्रम सम्झौता गर्न परराष्ट्र मन्त्रालयमार्फत औपचारिक पहल गर्ने तयारी गरेको हो ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री रामजी यादवले मन्त्रालयगत पहलबाट अपेक्षित प्रतिक्रिया ढिलो आउने भएकाले अब परराष्ट्र मन्त्रालयको समन्वयमार्फत प्रक्रिया अघि बढाइने जानकारी दिए ।

उनका अनुसार हालसम्म १३ देशसँग मात्र औपचारिक श्रम सम्झौता भएको भए पनि नेपाली श्रमिकहरू विश्वका १७८ देशमा कार्यरत रहेका छन् । वैदेशिक रोजगारीमा देखिने आर्थिक ठगी र श्रम शोषण नियन्त्रण गर्न सरकार प्रयासरत रहेको उनले बताए ।

मन्त्री यादवले वैदेशिक रोजगारीमा जानेमध्ये करिब ४८ प्रतिशत श्रमिकले व्यक्तिगत श्रम स्वीकृति लिएर विदेश जाने गरेको तथ्यसमेत प्रस्तुत गरे ।

उनले विभिन्न देशमा महिला घरेलु श्रमिकहरू गैरकानुनी माध्यमबाट बिदेसिने प्रवृत्ति बढेकाले समस्या उत्पन्न हुँदा राज्यको पहुँच कमजोर हुने अवस्था रहेको उल्लेख गरे । साथै, पछिल्ला युद्धजन्य परिस्थितिका कारण विदेशमा मृत्यु भएका श्रमिकहरूको शव ल्याउने प्रक्रियामा केही ढिलाइ भए पनि अब त्यसलाई व्यवस्थित गरिने उनले बताए ।

बैठकमा समिति सदस्यहरूले वैदेशिक रोजगारीलाई सुरक्षित, पारदर्शी र ठगीमुक्त बनाउन सरकार गम्भीर हुनुपर्ने सुझाव दिएका थिए । समितिका सभापति रहबर अन्सारी ले मन्त्री यादवलाई समितिका अघिल्ला निर्देशन तथा सुझावहरू पनि हस्तान्तरण गरेका थिए ।