द्वन्द्वकालमा बन्द भएको छोटी भन्सार पुनः सञ्चालनकाे तयारी

बाँके – द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा आउने भएको छ । भन्सार विभागले नेपालगञ्ज भन्सारअन्तर्गत रहने गरी उक्त छोटी भन्सार सञ्चालनको तयारी अघि बढाएको जनाएको छ ।

भन्सार विभागका निर्देशक किशोर बर्तौलाका अनुसार भौतिक पूर्वाधार निर्माण तथा कर्मचारी व्यवस्थापनको काम भइरहेको छ। उनले यो छोटी भन्सार अस्थायी पैठारी तथा घरायसी प्रयोजनका सामान आयातका लागि मात्रै प्रयोगमा आउने स्पष्ट पारे ।

भन्सार नियमावली, २०८३ मा नरैनापुर छोटी भन्सार स्थापना हुने व्यवस्था समेटिएपछि स्थानीय व्यवसायी तथा व्यापारी उत्साहित भएका छन् ।

भन्सार कार्यालय नेपालगञ्जका प्रमुख जर्नादन पौडेलले बाँकेमा रहेका सात वटा छोटी भन्सारमध्ये नरैनापुरको मात्रै तत्काल सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए ।

उनले अवैध सामान ओसारपसारको जोखिमलाई ध्यानमा राख्दै भन्सार जाँचलाई कडाइ गरिने बताए । नरैनापुर नाकाबाट आलु, प्याज तथा केही पशु चौपाया आयात हुनसक्ने उनको भनाइ छ ।

उद्योग वाणिज्य सङ्घ नेपालगञ्जका वरिष्ठ उपाध्यक्ष चीरञ्जीवी ओलीले छोटी भन्सार पुनः सञ्चालन स्थानीय व्यवसायीका लागि उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे । उनले मुख्य भन्सारबाट आउने सामान छोटी भन्सारमार्फत नआउने भएकाले राजस्व सङ्कलन बढ्नुका साथै तस्करी नियन्त्रणमा समेत सहयोग पुग्ने बताए ।

सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नरैनापुर छोटी भन्सार डिजिटल प्रणालीमार्फत् सञ्चालन हुनुपर्नेमा जोड दिँदै त्यसले जमुनाहा नाकामा हुने भीड घटाउन मद्दत पुग्ने धारणा राखे । उनले छोटी भन्सार पारदर्शी रूपमा सञ्चालन हुनुपर्ने र त्यसबाट राज्यले समेत लाभ लिन सक्ने अवस्था सिर्जना हुनुपर्ने बताए ।

‘चोरी निकासी बन्द हुनुपर्छ र आसपासका स्थानीयले यसको फाइदा लिनुपर्छ । यसबाट राज्यको राजस्व सङ्कलनमा पनि थप टेवा पुग्छ’, श्रेष्ठले भने ।

सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यले पनि नरैनापुर छोटी भन्सार सञ्चालनलाई नेपालगञ्जका व्यवसायीका लागि सकारात्मक अवसरका रूपमा व्याख्या गर्दै अवैध व्यापार निरुत्साहित हुने विश्वास व्यक्त गरे । द्वन्द्वकालमा सुरक्षा संवेदनशीलताका कारण बाँकेमा सञ्चालित सात वटा छोटी भन्सार बन्द गरिएका थिए ।