काठमाडौँ । सरकारले १३ स्थानीय तहलाई डेंगु संक्रमणको सर्तकता अपनाउन आग्रह गरेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा। गोकर्णप्रसाद दाहालले ती १३ स्थानीय तहमा डेंगु संक्रमण देखिएकाले सतर्कता अपनाउन आग्रह गरिएको बताए।
‘हामीले पुस यता सबै स्थानीय तहको डेंगु संक्रमणको अवस्थाको अध्ययन गरिरहेका छौँ’, उनले भने, ‘अन्य स्थानीय तहमा फाट्टफुट्ट डेंगु संक्रमण देखिएका छन्। तर यी १३ स्थानीय तहमा पाँच वटासम्म सङ्क्रमण देखिएको सतर्कता अपनाउन पत्राचार गरेका छौँ।’
उनका अनुसार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका, झापाको भद्रपुर नगरपालिका, विर्तामोड नगरपालिका, मेची नगरपालिका र कचनाकेवल गाउँपालिका, सुनसरीको धरान उमहानगरपालिका म्याग्दीको वेनी नगरपालिका, चितवनको भरतपुर महानगरपालिका, रूपन्देहीको बुटवल उपमहानगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिका र ललितपुरको ललितपुर महानगरपालिका रहेका छन्।
पुस यता करिब ६ सय जनामा सङ्क्रमण देखिएको थियो। शाखा प्रमुख डा दाहालले अहिलेको पानीले केही सङ्क्रमण नबढाउने बताए।
“अहिलेको पानी डेङ्गु सार्ने लामखुट्टे फैलिने छैन। एक छिन आउने त्यसपछि नआउने खालको छ”, उनले भने, “त्यसैले अहिलेको पानीमा डेङ्गु सार्ने लामखुट्टे फैलिने सक्दैन। सङ्क्रमणको जोखिम कम छ।
पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फूल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेंगु संक्रमण लाग्दछ।






