सपना मल्लको टिप्पणी- विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने कार्यले निरंकुशताको झझल्को दिन्छ

काठमाडौं । सर्वोच्च अदालतकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थ प्रेरित कार्यले निरंकुशताको झझल्को दिने बताएकी छन्।

कानुन दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै औचित्यताको नाममा विधिमा छेडखानी गर्ने कार्य स्वेच्छाचारिता शासन, शासनको शासकको लागि स्वाभाविक भए पनि विधिको शासनमा विश्वास गर्नेको लागि सह्य नहुने बताइन्।

उनले भनिन्, ‘यो सम्पूर्ण प्रक्रियामा हामीले मनन गर्नुपर्ने कुरा हो, विधिको शासन विरुद्ध षड्यन्त्र गर्ने विरुद्ध उठ्ने आँट, औकात र प्रतिबद्धता हामी सबैले देखाउन सक्नुपर्दछ। यस्तो भएन भने संवैधानिक प्रणाली, प्रजातान्त्रिक व्यवस्था र न्यायपूर्ण समाजको हाम्रो परिकल्पना स्वतः सुरक्षित भइरहन्छ भनेर हामी मान्न सक्दैनौँ।’

संविधान राज्य सञ्चालनको कानुनी दस्ताबेज मात्र नभएर नागरिकको जीवन पद्धतिको रूपमा रहनुपर्ने बताइन्।

उनले थपिन्, ‘आम नागरिकलाई संवैधानिक शासकीय परिवर्तन प्रतिको वास्तविक अनुभूति हुन सक्छ। न्यायिक इतिहासको अत्यन्त जटिल र कठिन परिस्थितिमा पनि स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई अक्षुण राख्दै संविधानको मर्यादाको आधारमा कार्यकारिणीको स्वेच्छाचारिता र अनुचित हस्तक्षेपलाई यस संस्थाबाट सुरक्षित राख्न, न्यायिक मन मान्यतालाई कायम राख्ने योगदान गर्ने पूर्व प्रधानन्यायाधीशज्यूहरू, सम्पूर्ण न्यायकर्मीहरुलाई नमन गर्दै उच्च सम्मान पनि व्यक्त गर्न चाहन्छु।’

आजको दिन संविधानको इमानदार कार्यान्वयन र पालन गर्ने विधिको शासनको रक्षा गर्न प्रतिबद्धता देखाउने दिन भएको बताइन्।सबै प्रजातन्त्र र कानुनी राज्यका सञ्चालक र सरोकारवालाले संविधान, विधिको शासन, लोकतन्त्रको सही संरक्षण र कार्यान्वयनको लागि गरेका प्रयास को र चुकेका विषयमा आत्मसमीक्षा गर्नुपर्ने बताइन्।

संविधान, संविधानवाद, संवैधानिक नैतिकताभन्दा माथि कोही पनि हुन नसक्ने बताइन्। संविधानको कार्यान्वयनको लागि उपयुक्त वातावरण बनाउनुको विकल्प नभएको उनको बुझाइ छ।

उनले भनिन्, ‘कतै अख्तियारी र विधिको प्रयोगको बहानामा संवैधानिक सर्वोच्चता, स्वतन्त्रता र न्यायको सार्वभौम सत्तामा यसका आधारहरू र प्रत्याभूतिहरू शिथिल र अकर्मण्य बनाएर आज्ञाकारी न्यायपालिकाको र कानुनी राज्यको असमान प्रयोगको जग बसाल्न त प्रयास भएको छैन भन्ने प्रश्न अहिले उठिरहेको छ। न्यायको अन्तिम गन्तव्य बनाउनुको साथ साथै आफ्नै स्वार्थहरूको संरक्षण गर्न मुकुन्डो बनाउने कुत्सित प्रयासमा त लागिरहेको छैनौँ भन्ने पनि प्रश्न उठिरहेको छ।’

उनले एउटालाई खाने बाघले अर्कोलाई नखाला भनेर भन्न नसकिने टिप्पणी गरिन्। संविधान यथास्थितिमा राखेर संविधानको विरुद्ध गरिने काम क्रान्ति वा परिवर्तन हुन नसक्ने उनको तर्क छ। संविधानको उल्लङ्घन गर्नेहरूलाई संविधान विरुद्ध उत्तरदायी नबनाएसम्म संविधानको वफादार कार्यान्वयन पनि हुन नसक्ने बताइन्।

उनले थपिन्, ‘संरचना भत्काएर परिवर्तन रोज्ने बहाना खोजेर आफ्नो परिवेशको उत्कृष्टता स्थापना गर्ने प्रयासले सत्तामा रहनेको धित त मर्ला तर विधि र विधि सम्मतको अपेक्षा राख्नेहरूको सपना भङ्ग हुने तय छ।’