सेनालगायत सुरक्षा निकायका सामग्री स्वदेशमै उत्पादन गरिने

काठमाण्डौं – सरकारले नेपाली सेनालगायत सुरक्षा निकायका लागि आवश्यक बन्दोबस्ती तथा सामग्री स्वदेशमै उत्पादन गर्ने व्यवस्था मिलाउने भएको छ । सुरक्षा क्षेत्रमा रहेको बाह्य निर्भरता कम गर्दै आत्मनिर्भरता अभिवृद्धि गर्ने नीति अघि सारिएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।

सरकारले राष्ट्रिय हित संरक्षणका लागि सुरक्षा सम्बन्धी नीति तथा कानुन परिमार्जन गर्ने जनाएको छ । सीमा क्षेत्रका विवाद समाधानमार्फत नागरिक सुरक्षालाई थप प्रभावकारी बनाइने तथा सीमा विवाद समाधानका लागि कूटनीतिक वार्तालाई प्राथमिकता दिइने नीति लिइएको छ ।

साथै, सुरक्षा जनशक्तिको तालिम, नेतृत्व तथा रणनीतिक दक्षता विकासमार्फत व्यावसायिक क्षमता अभिवृद्धि गरिनेछ । राष्ट्रिय सेवाका लागि सुरक्षा संरचनालाई थप सुदृढ बनाइने सरकारको नीति छ ।