नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले राजीनामा दिएको भनी विभिन्न मिडियामा आएकोे समाचारको खण्डन गर्दै झुट नफैलाउन ध्यानाकर्षण गरेको छ ।
बैंकले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सीईओ पाण्डेको राजीनामाका सम्बन्धमा प्रकाशित तथा प्रसारित समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
बैंकका अनुसार, ती समाचारहरू पूर्णतः भ्रमपूर्ण, आधारहीन र तथ्यहीन रहेका छन् । विज्ञप्तिमा उल्लेख भएअनुसार, प्रमुख कार्यकारी अधिकृत पाण्डे हाल पनि आफ्नो जिम्मेवारीमा सक्रिय छन् र बैंकको कार्यसम्पादन तथा व्यवस्थापनमा निरन्तर संलग्न छन् ।
बैंकले कुनै पनि समाचार वा सूचना प्रकाशन तथा प्रसारण गर्नुअघि आधिकारिक स्रोतबाट पुष्टि गर्न सम्पूर्ण सञ्चारमाध्यम तथा सरोकारवालाहरूलाई अनुरोध गरेको छ । साथै, बैंकले आफ्ना ग्राहकवर्ग, सेयरधनी तथा आमसर्वसाधारणको विश्वासलाई सुदृढ बनाउँदै गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्न आफू सदैव प्रतिबद्ध रहेको समेत स्पष्ट पारेको छ ।







