डुबेको ऋण उठाउँदा पनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीइओ पाण्डे पक्राउ

काठमाडौं। डुबेको ऋण उठाएको विषयसँग जोडेर प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआइबी) ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई पक्राउ गरेको छ।

स्मार्ट टेलिकम कम्पनीलाई दिइएको ऋण डुबेपछि त्यो सम्पत्ति लिलाम गरेर बैंकले ऋण उठाएको थियो। 

स्मार्ट टेलिकमले ५ अर्ब २० करोड रुपैयाँ ऋण लिएको थियो। जनताको निक्षेपबाट दिइएको ऋण नतिरेपछि बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन र सुरक्षित कारोबार दर्ता ऐनको व्यवस्था अनुसार ऋण उठाएको थियो।

स्मार्ट टेलिकमले सरकारलाई तिर्नु पर्ने पैसा नतिरेपछि कम्पनी सरकारको नियन्त्रणमा पुगेको थियो। कम्पनी सकार्दा सम्पत्तिसँगै दायित्व पनि स्वामित्व ग्रहण गर्नेहरुकै हुन्छ।

तर, यो प्रकरणमा भने सीआइबीले दायित्वको कुरा नगरी सम्पत्तिको बारेमा मात्र कुरा गरेको जानकारहरु बताउँछन्।

कम्पनीको स्वामित्व परिवर्तन भए पनि कम्पनीसँग भएको ऋण र सम्पत्ति दुवै कम्पनीमै हुन्छ। त्यसो हुँदा स्वामित्व जोसुकैको हातमा पुगे पनि बैंकको ऋण तिर्ने दायित्व कम्पनीको हुन्छ।

कम्पनीले ऋण नतिरेमा बैंकले कानुन अनुसार लिलाम गरेर ऋण उठाउन पाउँछ।