काठमाडौं – नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय गरेको छ ।
सोमबार दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
आज बसेको बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय मात्रै गरेको उपमहासचिव भट्टले जानकारी दिए ।
अन्य विविध विषयमा छलफल भएको भए पनि निर्णय हुन बाँकी रहेको उनले बताए । उपमहासचिव भट्टका अनुसार, अर्को बैठक जेठ ८ गते बस्नेछ ।
गत वर्ष साउन पहिलो साता भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय एमालेले गरेको थियो ।
एघारौं राष्ट्रिय महाधिवेशनबाट पार्टीकै नेतृत्व लिनेगरी भण्डारीका गतिविधि अगाडि बढेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सदस्यता नवीकरण नगर्ने निर्णय सुनाएका थिए । ओलीको त्यो निर्णयलाई उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल लगायतले साथ दिएका थिए ।
हिजो (आइतबार) मदन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा भण्डारीलाई प्रमुख अतिथि बनाइएको थियो ।






