दुर्गा प्रसाईँविरुद्ध अनुसन्धानका लागि तीन दिन म्याद थप

काठमाडौँ । दुर्गा प्रसाईँमाथि अनुसन्धान अघि बढाउन अदालतले थप तीन दिनको म्याद अनुमति दिएको छ ।

सोमबार राति वीरगञ्जस्थित होटेल सिद्धार्थ दियालोबाट पक्राउ परेका प्रसाईँलाई मंगलबार पर्सा जिल्ला अदालतमा उपस्थित गराई थप अनुसन्धानका लागि म्याद लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत उत्तेजक अभिव्यक्ति दिने, सामाजिक सद्भावमा असर पार्ने गतिविधि सञ्चालन गर्ने तथा राज्यविरुद्ध उक्साउने प्रकृतिका क्रियाकलापमा संलग्न भएको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ ।

प्रसाईँविरुद्ध विद्युतीय कारोबारसम्बन्धी ऐन र सार्वजनिक शान्ति भंगसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा उनका सार्वजनिक अभिव्यक्ति, कार्यक्रम तथा सामाजिक सञ्जाल गतिविधिसम्बन्धी थप प्रमाण र विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।