एसइईमा गण्डकी बोर्डिङ स्कुल कास्की प्रथम

पोखरा । कास्की जिल्लामा विद्यालयगत औसत जिपिएको आधारमा गण्डकी बोर्डिङ स्कुल(जिबिएस), लामाचौर पहिलो भएको छ । विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा ३ दशमलव ७४ औसत जिपिएसहित जिल्लामै पहिलो स्थान हासिल गरेको हो ।

विद्यालयका प्रिन्सिपल विश्वयुधीर पौडेल घर्तीले मंगलबार विद्यालयमा आयोजित सभामा जिल्ला शिक्षा कार्यालयबाट प्राप्त जानकारीअनुसार गण्डकी बोर्डिङ स्कुल कास्कीमा विद्यालयगत औसत जिपिएको आधारमा पहिलो भएको सुनाए ।

यस वर्ष गण्डकी बोर्डिङ स्कुलले ३ दशमलव ७४ औसत जिपिएसहित कास्की जिल्लामा पहिलो स्थान हासिल गरेको छ,’ उनले भने । यस उपलब्धिका लागि उपप्राचार्य, विषय शिक्षक, छात्रावास अभिभावक, अभिभावक र सम्पूर्ण कर्मचारीलाई उनले धन्यवाद दिए।

यस वर्ष गण्डकी बोर्डिङ स्कुलबाट एसइईमा सहभागी भएका १२० जना विद्यार्थी सबै उत्तीर्ण भएका छन् । तीमध्ये ५ जनाले ४ जिपिए ल्याएका छन् भने ९२ जनाले ३ दशमलव ६ वा सोभन्दा माथि जिपिए प्राप्त गरेका छन् । त्यसैगरी २३ जनाले ३ दशमलव २ वा सोभन्दा माथि जिपिए ल्याएका छन् भने एक विद्यार्थीले २ दशमलव ९६ जिपिए प्राप्त गरेको विद्यालयले जनाएको छ ।

४ जिपिए ल्याउने विद्यार्थीमा एन्जेलिना केसी, अर्पित चालिसे, सत्कार पोखरेल, सुकृति तिमिल्सिना र यथार्थ लामिछाने छन् । विद्यालयले उनीहरूलाई कक्षा ११ र १२ मा अध्ययन गर्न चाहे वार्षिक तथा मासिक शुल्कमा शतप्रतिशत छात्रवृत्ति दिने घोषणा गरेको छ । प्रिन्सिपल घर्तीले भने, ‘अबको कक्षा १० का विद्यार्थीको नतिजा अझ राम्रो हुनेछ भन्ने अपेक्षा छ, त्यसका लागि आजैदेखि मेहनत गर्नुपर्छ ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यका अनुसार संस्थागत विद्यालयतर्फ गण्डको बोर्डिङपछिको उत्कृष्ट नतिजा मदरल्याण्ड माध्यमिक विद्यालयको छ । मदरल्यान्ड ३ दशमलव ७२ जिपिएसहित दोस्रो भएको छ । मदरल्यान्डका १२ जनाले ४ जिपिए ल्याएका थिए । शिशु निकेतन माध्यमिक विद्यालय ३ दशमलव ६२ जिपिएसहित तेस्रो स्थानमा छ ।

सामुदायिकमा बालमन्दिर प्रथम

सामुदायिक विद्यालयतर्फ ५० जनाभन्दा बढी विद्यार्थी सहभागी भएका विद्यालयमध्ये बालमन्दिर माध्यमिक विद्यालय ३ दशमलव ३४ जिपिएसहित पहिलो भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले बताए । बिन्ध्यवासिनी माध्यमिक विद्यालय, बाटुलेचौर ३ दशमलव २१ जिपिएसहित दोस्रो स्थानमा रहेको उनले जानकारी दिए ।

माछापुच्छ्रे माध्यमिक विद्यालय, भुर्जुङखोलाको औसत जिपिए ३ दशमलव ०९ रहेको पनि उनले बताए । माछापुच्छ्रे माध्यमिक विद्यालय, भुर्जुङखोला सामुदायिकतर्फ जिल्लामै तेस्रो भएको हो ।

थोरै विद्यार्थी संख्या भएका विद्यालयमा कालिका माध्यमिक विद्यालय, काहुँ अग्रस्थानमा रहेको छ । ‘विद्यार्थी असाध्यै न्यून सहभागी हुँदा औसत जिपिए बढ्ने सम्भावना हुन्छ,’ आचार्यले भने, ‘त्यसैले वास्तविक अवस्था मूल्यांकन गर्न ५० जना विद्यार्थीलाई एउटा मापदण्ड मान्नु उपयुक्त हुन्छ ।’