मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौँ। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिन आज दिउँसो १ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ ।

जनमत पार्टीले गत वैशाख २१ गते सरकारबाट समर्थन फिर्ता लिएपछि जेठ १ गते विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरिएको थियो । तर आफ्नै पार्टी काँग्रेसभित्र असन्तुष्टि र जसपाले विश्वासको मत दिने निर्णय नगर्दा उनी पछि हटेका थिए ।

विश्वासको मत लिने पूर्वसन्ध्यामा मधेशको सत्ता समीकरण पनि परिवर्तन भएको छ । जसपा नेपाललाई सरकारबाट हटाएर नेकपा एमालेलाई भित्राएका छन् ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवले जसपा नेपालका तीन मन्त्रीहरूलाई बर्खास्त गरेर एमालेका मोहम्मद समिरलाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन् ।

यससँगै मधेशमा नेपाली काँग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को गठबन्धन बनेको छ । तीन दलीय गठबन्धन बनेपछि मुख्यमन्त्री यादवले जसपा नेपाल र जनमतका मन्त्रीहरूलाई राजीनामा गर्न निर्देशन दिएका थिए ।

१०७ सदस्य प्रदेश सभामा सरकारको विश्वासको लागि ५४ सिट आवश्यक पर्छ । मधेशमा लोसपा जसपा नेपालमा एकीकरण भएर समाहित भएपछि उसको २६ सिट छ । दुईजना सांसद हाल निलम्बनमा छन् ।

एमालेको २४, काँग्रेस २२, नेकपाको १५ सिट छ । यसरी बनेको नवगठबन्धनको ६१ सिट पुग्छ ।