नेकपा एमालेको सचिवालय बैठकमा आज चर्काचर्की नै भएको छ । पार्टीका चारजना उपाध्यक्षले अध्यक्ष केपी शर्मा ओलीसँग राजीनामा मागेका थिए ।
आजको बैठकमा पाँच जना उपाध्यक्षहरूले बोलेका थिए। रामबहादुर थापा बादल बाहेक चार उपाध्यक्षले पार्टीको पुनर्गठन आवश्यक रहेको भन्दै ओलीलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका थिए।
उपाध्यक्षहरू बिष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्तले अध्यक्ष ओलीसँग राजीनामा माग गरेका छन्। उनीहरूले एमालेलाई वर्तमान कमजोर अवस्थामा पुर्याएको जिम्मेवारी ओलीले लिनुपर्नेमा जोड दिएका छन्। तर बादल ओलीको पक्षमा उभिएका छन्।
अध्यक्ष ओलीले भने राजीनामा नदिने अडान राख्दै उपाध्यक्षहरूलाई विरोधी शक्तिसँग मिलेर पार्टीलाई संकटमा पार्ने प्रयास गरेको आरोप लगाएका छन्। बैठक अहिलेका लागि स्थगित गरिएको छ।
यो घटनाक्रमले एमालेको आन्तरिक विवादलाई अझ गहिरो बनाएको छ र पार्टीको एकता र आगामी राजनीतिक रणनीतिमा ठूलो असर पार्न सक्ने देखिएको छ।






