काठमाडौं, जेठ २२ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय हुने बताएका छन् ।
शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आज आयोजना गरेको भर्चुअल संवादमा उनले ती परीक्षाका विषयमा विभिन्न तीन विकल्पमा अध्ययन भइरहेको र त्यसका बारेमा आगामी साताभित्र निचोडमा पुगिने पनि बताए ।
बन्दाबन्दीपछि अन्तिममा खुल्ने क्षेत्र शिक्षण संस्थानै हुनजाने भएकोले र त्यतिञ्जेलका लागि अस्थायी समाधान गर्न वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका कार्यान्वयनमा ल्याएको उजागर समेत गरे ।
आगामी असार १ गतेबाट विद्यालय खोल्न नखोजिएको कुरा प्रस्ट पार्दै मन्त्री पोखरेलले निर्देशिका कार्यान्वयनमा स्थानीय तहको भूमिका नै महत्वपूर्ण हुने बताए ।






