घरबाट हराएकी २१ वर्षीया रमाको बोरामा प्याक गरिएको शव भेटियो

दमक– जेठको महिनाको प्रचण्ड गर्मी। दमक बजार आफ्नै रफ्तारमा चलिरहेको थियो। तर, दमक नगरपालिका–८ बसन्त टोलका नारायण तिवारीको घरमा भने अर्कै तरङ्ग चलिरहेको थियो। २१ वर्षीया छोरी रोमा (रमा तिवारी), जो परिवारकी लाड्ली थिइन्, जेठ १३ गते बुधबारको राति करिब ९ः३० बजेदेखि अचानक बेपत्ता भइन्।

‘भोलि बिहानै आउँछे कि? साथीकोमा गई कि?’ आमा मुना तिवारीले मनलाई फकाउने प्रयास गरिन्। तर, दिन बित्दै गयो, रमाको कुनै अत्तोपत्तो पाइएन। 

परिवारको छटपटी र खोजीकार्य जारी नै थियो, तर उनीहरूलाई थाहा थिएन कि रमा अब कहिल्यै नफर्कने बाटोमा गइसकेकी थिइन्।

जेठको मध्य शनिबार। दमक–१० स्थित सेतुमाडी क्षेत्रमा रतुवा खोलाको किनारमा दिनहुँ जस्तै मानिसहरूको आवतजावत थियो। बिहानको करिब ११ बजेको हुँदो हो, पुलमुनि पानीको बहावसँगै एउटा ठूलो सेतो प्लास्टिकको बोरा अड्किएको देखियो। बोरा अनौठो तरिकाले पोको पारिएको थियो र त्यसबाट दुर्गन्ध फैलिन थालिसकेको थियो।

शङ्का लागेर स्थानीयबासीले नजिकै गएर हेर्दा सातो उड्यो, बोराभित्र कसैको शव थियो!

घटनास्थलमा तुरुन्तै प्रहरी टोली आइपुग्यो। शवलाई बोराबाट बाहिर निकालिँदा त्यहाँ उपस्थित सबैका आँखा रसाए। शव विभत्स अवस्थामा थियो। हत्याराले अत्यन्तै निर्मम तरिकाले कसैको जीवन लिला समाप्त पारिदिएको स्पष्ट देखिन्थ्यो।

खोला किनारमा शव भेटिएको खबर डढेलो जस्तै फैलियो। हराइरहेकी छोरीको आशमा बसेका नारायण तिवारी र मुना तिवारी पनि कापिरहेको मुटु लिएर घटनास्थलतर्फ दगुरे।

जब प्रहरीले शवको अनुहार देखायो, आमा मुनाको चित्कारले रतुवा खोलाको किनार स्तब्ध भयो। बुवा नारायणका आँखाहरू ओभानो रहन सकेनन्। त्यो शव अरू कसैको नभएर उनीहरूकै २१ वर्षीया कलेज पढ्ने उमेरकी छोरी रमाको थियो।

‘मेरी छोरीको कसैसँग केही दुस्मनी थिएन, कसले यस्तो पापी काम गर्यो?’ आमाको यो प्रश्नले त्यहाँ उपस्थित सबैलाई निरुत्तर बनायो।

घटनाको प्रकृति हेर्दा यो सामान्य मृत्यु वा आत्महत्या किमार्थ थिएन। झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र खड्का आफैं घटनाको सुक्ष्म विश्लेषण गरिरहेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानले एउटा डरलाग्दो तथ्य संकेत दियोेः रमाको हत्या रतुवा खोलाको किनारमा भएको थिएन।

हत्याराले रमालाई अन्यत्रै कुनै गोप्य स्थानमा हत्या गरेको थियो।

पहिचान लुकाउन र प्रमाण नष्ट गर्न शवलाई सेतो प्लास्टिकको बोरामा कसिलो गरी पोको पारियो।

मध्यरातको एकान्तको फाइदा उठाउँदै हत्याराले सवारीसाधनको प्रयोग गरेर शवलाई सेतुमाडी पुलमाथि ल्यायो र प्रमाण सिध्याउने उद्देश्यले पुलमाथिबाट सरासर खोलामा खसालिदियो।

बुधबार राति ९ः३० बजे घरबाट निस्किएकी रमा शनिबार मात्रै फेला पर्नुले बीचको दुई–तीन दिन उनी कहाँ र कोसँग थिइन् भन्ने ठूलो प्रश्न खडा गरेको छ।

रमालाई राति साढे ९ बजे कसले फोन गरेर वा बोलाएर घरबाहिर निकाल्यो?

के यो कुनै चिनजानकै मान्छेको चंगुल थियो, जसलाई रमाले विश्वास गरेकी थिइन्?

के यो योजनाबद्ध हत्या हो?

डीएसपी खगेन्द्र खड्काले सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै भने, ‘हामीले घटनालाई अत्यन्तै गम्भीरताका साथ लिएका छौं। प्राविधिक पक्ष, कल डिटेल्स र रमाको सामाजिक वृत्तलाई केन्द्रमा राखेर विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ। अपराधी कानुनको कठघराबाट उम्किन पाउने छैन।’

बसन्त टोल यतिबेला शोक र आक्रोशमा डुबेको छ। रमा त गइन्, तर आफू नफर्कने संसारमा जाँदाजाँदै उनले धेरै अनुत्तरित प्रश्नहरू रतुवा खोलाको बगरमा छोडेर गएकी छिन्। कानुनले ती प्रश्नहरूको उत्तर र रमाका वृद्ध आमाबुवालाई न्याय कहिले दिन्छ? यो भने हेर्न बाँकी नै छ।