काठमाडौं । आउँदो बिहीबारदेखि अमेरिका, मेक्सिको र क्यानडामा सुरु हुन लागेको फिफा विश्वकप २०२६ मा सहभागिता जनाउन जान लागेका अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन विभागले रोकेको छ । योसँगै उनीहरू विश्वकप हेर्नबाट वञ्चित भएका छन् ।
मंगलबार (जेठ २६) बिहान उनीहरू मेक्सिकोमा हुने उद्घाटन समारोहमा भाग लिन जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । तर, अध्यागमन विभागमा उनीहरू कालोसूचीमा कायम रहेका कारण फर्कन बाध्य हुनुपर्यो ।
अध्यागमन विभागका सूचना अधिकारी अनुज भण्डारीले एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई आएका तर यहाँबाट फर्काइएको जानकारी दिए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एन्फाबीच एन्फाको ‘अर्लि इलेक्सन’का विषयमा विवाद भएको थियो । सोहीक्रममा गत चैत ११ गत राखेपले एन्फालाई तीन महिनाका निम्ति निलम्बन गरेको थियो । साथै, एन्फा केन्द्रीय कार्यसमितिका पदाधिकारीलाई विदेश जानबाट रोक लगाउँदै अध्यागमन विभागको कालोसूचीमा राखिएको थियो ।
हाल राखेपले एन्फाको निलम्बन फुकुवा गरिसकेको छ । तर, अध्यागमनको कालोसूचीबाट हटाइएको छैन । राखेप सदस्यसचिव रामचरित्र मेहताले एन्फाको विषय पूर्ण रूपमा समाधान नभएसम्म विदेश जान नपाउने बताएका थिए ।
मेक्सिको जाने तरखरबीच एन्फा पदाधिकारीले राखेप सदस्यसचिव मेहतासँग भेट गरेका थिए । तर, नतिजा सकारात्मक देखिएन ।
कालोसूचीमा रहेकै कारण गएको महिना क्यानडामा भएको फिफा कंग्रेसमा अध्यक्ष नेम्वाङ र महासचिव राई सहभागी हुन पाएनन् ।
अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्न लागेको फिफा विश्वकपको उद्घाटन समारोह यही जेठ २८ हुँदै छ । त्यहाँ मेक्सिको र दक्षिण अफ्रिकाबीच पहिलो खेल हुनेछ ।







