सप्तरी बलात्कार प्रकरण : पञ्चहरू एक लाख १० हजार धरौटीमा रिहा

दुई बलात्कारी र सात जना पञ्च अझै फरार

असोज २८, सप्तरी ।
पञ्चायती बसेर बलात्कारको घटनामा लुकाउन भूमिका खेल्ने ३ जनालाई सप्तरी जिल्ला अदालतले जनही एक लाख १० हजार धरौटी बुझाएर तारेखमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश चन्द्रमणी ज्ञवालीको इजलासले यस्तो आदेश दिएको हो । साथै बलात्कारमा संलग्न भएको आरोप लागेका १८ वर्षभन्दा कमका दुई बालकहरूलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन आदेश दिएको छ ।

डाक्नेश्वरी नगरपालिका–७ ब्रम्हपुरीकी १७ वर्षीया किशोरीलाई २६ भदौमा चार जनाको समूहले बलात्कार गरेका थिए । घटनाबारे उजुरी गर्न खोज्दा पञ्चायतीले रोकेर ५५ हजारमा मिलापत्र गराउन खोजेपछि पीडितले आत्महत्या गरेकी थिइन् ।

घटना सार्वजनिक भएपछि बलात्कारमा संलग्न दुई जना पक्राउ परेका थिए भने दुई जना फरार छन् । पञ्चायती गर्ने ३ जना पक्राउ परेका थिए भने ७ जना अझै पनि फरार छन् ।

प्रहरीले घटनाको अनुसन्धान सकाएपछि सरकारी वकिलको कार्यालयले अदालतमा बलात्कारमा संलग्नविरुद्ध बलात्कार र आत्महत्या दुरुसात्हन तथा पञ्चायती गर्नेहरुविरुद्ध आत्महत्या दुरुत्साहन र प्रमाण नष्ट गरेकोमा मुद्दा दायर गरेको थियो । यसमा अधिकतम ५ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ ।

सरकारी वकिलको कार्यालय, सप्तरीले भने यसविरुद्ध पुनरावेदन गर्ने बताएको छ ।