अमेरिका र इरानबीच १४ बुँदे युद्धविराम सम्झौता भएको छ । विभिन्न अन्तर्राष्टिय सञ्चारमाध्यमले सम्झौताका १४ बुँदा सार्वजनिक गरिरहेका छन् । अलजजिराकाे समाचारअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका एक वरिष्ठ अधिकारीले पत्रकारहरूसँगको फोन संवादका क्रममा अमेरिका–इजरायल र इरानबीचको युद्ध अन्त्य गर्ने समझदारीपत्रको पाठ पढेर सुनाएका थिए ।
यो विवरण ट्रम्प प्रशासनबाट आएको अहिलेसम्मकै स्पष्ट विवरण हो । अलजजिराका अनुसार दुवै पक्षले शुक्रबार हुने समारोहमा उक्त सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेका छन् । यद्यपि, अहिलेसम्म अमेरिका र इरान दुवैले सम्झौताको बुँदा औपचारिक रूपमा सार्वजनिक भने गरेका छैनन् । केहीदिन अघि इरानी सञ्चारमाध्यममा अमेरिकी प्रस्तावका १४ बुँदा भनेर सामाचार प्रकाशन भने भएका थिए ।
अमेरिका र इरानबीच हुन लागेको युद्धविराममा इजरायल भने निमित्त देश मात्रै भएको छ । युद्धको अग्रमोर्चामा रहेको इजरायले युद्धविरामप्रति असन्तुष्टि जनाएका कारण अमेरिकाको अग्रसरतामा इरानसँग समझदारी हुन लागेको हो । यो युद्धविरामप्रतिको समझदारीले लेबनानसहित सबै मोर्चामा भइरहेको लडाइँ रोक्ने, अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने र होर्मुज जलडमरूमार्ग समुद्री यातायातका लागि खोल्नेछ ।
अन्तर्राष्टिय सञ्चारमाध्यमले सार्वजनिक गरेका समझदारीका मस्यौदाअनुसार प्रारम्भिक सम्झौताले इरानको आणविक कार्यक्रम, होर्मुज जलडमरूको भविष्यको व्यवस्थापन, अमेरिकी प्रतिबन्ध हटाउने, इरानको रोक्का गरिएका सम्पत्ति फुकुवा गर्ने र अमेरिकाको समर्थनमा ३०० अर्ब डलरको पुनर्निर्माण योजनाबारे छलफल हुनेछ ।
अधिकारीले प्रारम्भिक सम्झौतामा अमेरिका र इरानले डिजिटल रूपमा हस्ताक्षर भइसकेको र शुक्रबारको औपचारिक हस्ताक्षर हुने बताएका छन् ।
यी हुन् समझदारीका १४ बुँदा
एक
संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान तथा वर्तमान युद्धमा संलग्न उनीहरूका सहयोगीहरूले यो समझदारीपत्रमा हस्ताक्षर गर्दै लेबनानसहित सबै मोर्चामा तत्काल र स्थायी रूपमा सैन्य कारबाही अन्त्य भएको घोषणा गर्छन् । अबदेखि एकअर्काविरुद्ध कुनै युद्ध वा सैन्य कारबाही सुरु नगर्ने, एकअर्काविरुद्ध बल प्रयोग वा बल प्रयोगको धम्की नदिने र लेबनानको क्षेत्रीय अखण्डता तथा सार्वभौमिकता सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँछन् । अन्तिम सम्झौताले लेबनानसहित सबै मोर्चामा युद्धको स्थायी अन्त्य पुष्टि गर्नेछ ।
दुई
संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान एकअर्काको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने तथा एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाउँछन् ।
तीन
संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानले अधिकतम ६० दिनभित्र (आपसी सहमतिमा थप गर्न सकिने) अन्तिम सम्झौता वार्ता गरेर हासिल गर्ने प्रतिबद्धता जनाउँछन् ।
चार
यो समझदारीपत्रमा हस्ताक्षर भएपछि अमेरिकाले इरानविरुद्धको नौसैनिक नाकाबन्दी र अवरोध हटाउन सुरु गर्नेछ र ३० दिनभित्र पूर्ण रूपमा अन्त्य गर्नेछ । यस अवधिमा जहाज आवागमन युद्धअघिको स्तरअनुसार पुनःस्थापित गरिनेछ । अन्तिम सम्झौतापछि ३० दिनभित्र अमेरिकाले इरान नजिक तैनाथ आफ्ना सेना हटाउनेछ ।
पाँच
समझदारीपत्रमा हस्ताक्षर भएपछि इरानले ६० दिनका लागि फारसको खाडीबाट ओमान सागर र त्यसको विपरीत दिशामा व्यापारिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न प्रयास गर्नेछ । जहाज आवागमन तत्काल सुरु हुनेछ र प्राविधिक तथा सैन्य अवरोध हटाउने तथा समुद्री क्षेत्र सफा गर्ने काम ३० दिनभित्र पूरा गरिनेछ । इरानले ओमान तथा अन्य खाडीका देशहरूसँग अन्तर्राष्ट्रिय कानुनअनुसार होर्मुज जलडमरूमार्गको भविष्यको व्यवस्थापन र समुद्री सेवाबारे वार्ता गर्नेछ ।
छ
संयुक्त राज्य अमेरिकाले क्षेत्रीय साझेदारहरूसँग मिलेर इरानको पुनर्निर्माण र आर्थिक विकासका लागि कम्तीमा ३०० अर्ब अमेरिकी डलरको योजना बनाउनेछ । यसको कार्यान्वयन संयन्त्र अन्तिम सम्झौतामा ६० दिनभित्र तय गरिनेछ । आवश्यक सबै अनुमति र छुट अमेरिकाले दिनेछ ।
सात
संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्र सुरक्षा परिषद्का निर्णय, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसम्बन्धी निर्णय तथा अमेरिकी एकपक्षीय प्रतिबन्धहरू (प्रत्यक्ष र अप्रत्यक्ष) सहित इरानमाथिका सबै प्रकारका प्रतिबन्ध हटाउनेछ । यसको समयतालिका अन्तिम सम्झौताको भाग हुनेछ ।
आठ
इरानले आणविक हतियार खरिद वा विकास नगर्ने पुनः पुष्टि गर्छ । इरानको भण्डारण गरिएको प्रशोधित आणविक सामग्रीको व्यवस्थापनबारे दुवै पक्ष आपसी सहमतिमा समाधान खोज्नेछन् । यसको निगरानीमा साइटमै प्रशोधन स्तर घटाउने प्रक्रिया समावेश हुन सक्छ । अन्तिम सम्झौतामा आणविक कार्यक्रम र इरानको आणविक आवश्यकतासम्बन्धी विषयहरू समाधान गरिनेछन् ।
नौ
अन्तिम सम्झौता नहुँदासम्म दुवै पक्ष यथास्थिति कायम राख्नेछन् । इरानले हालको आणविक कार्यक्रमको अवस्था कायम राख्नेछ र अमेरिकाले नयाँ प्रतिबन्ध लगाउने छैन तथा क्षेत्रमा थप सेना पठाउने छैन ।
दश
समझदारीपत्रमा हस्ताक्षर भएदेखि प्रतिबन्ध अन्त्य नभएसम्म अमेरिकी अर्थ मन्त्रालयले इरानी कच्चा तेल, पेट्रोलियम पदार्थ, त्यससँग सम्बन्धित सेवा, बैंकिङ, बीमा र ढुवानीका लागि छुट दिनेछ ।
एघार
अमेरिकाले इरानका रोक्का गरिएका अज्ञात रकम र सम्पत्ति प्रयोगका लागि उपलब्ध गराउनेछ । यी रकम फुकुवा गर्ने प्रक्रिया वार्ताका क्रममा तय गरिनेछ । अमेरिकाले आवश्यक सबै अनुमति र लाइसेन्स जारी गर्नेछ ।
बाह्र
यो समझदारीपत्रको कार्यान्वयन र भविष्यको अन्तिम सम्झौताको पालना निगरानी गर्न संयुक्त संयन्त्र स्थापना गरिनेछ ।
तेह्र
समझदारीपत्रमा हस्ताक्षर भएपछि र पहिलो, चौथो, पाँचौँ, दशौँ र एघारौँ बुँदाको कार्यान्वयन सुरु भएपछि, अमेरिका र इरानले बाँकी विषयहरूमा मात्र अन्तिम सम्झौताका लागि वार्ता सुरु गर्नेछन् ।
चौध
अन्तिम सम्झौतालाई बाध्यकारी संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावमार्फत अनुमोदन गरिनेछ ।







