असोज, २७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष एवमं राष्ट्रिय सभा सदस्य वामदेव गौतम विरुद्ध परेको मुद्दाको सुनुवाई आज पनि नहुने भएको छ ।
राष्ट्रियसभामा मनोनीत भएपछि सरकारले मन्त्री बनाउने चर्चा थियो । सोहि विरुद्ध उनीमाथि मुद्दा लगाइएको थियो ।
कोरोना भाइरसबाट न्यायाधीशहरु संक्रमित भएपछि प्रभावित भएको सो मुद्दाको सुनुवाई अझै पछि धकेलिने भएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबार संवैधानिक इजलास नतोकेकाले वामदेव मुद्दा पछि धकेलिएको हो । सर्वोच्चमा साताको बुधबार र शुक्रबार संवैधानिक इजलास तोकिन्छ ।
अशोज १६ शुक्रबार वामदेव पक्षका वकिलहरु धेरै भएका कारण सुनुवाई नसकिँदा मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।
त्यसपछिको अशोज २१ र शुक्रबार अशोज २३ प्रधानन्यायाधीशसहित होम आइसोलेशनमा भएकाले सुनुवाई भएको थिएन् । तर यो बुधबार अधिकांश न्यायाधीशको होमआइसोलेशन अवधि पूरा भए पनि संवैधानिक इजलास तोकिएन ।
अशोज १६ गते वामदेवका तर्फबाट पूर्व महान्याधीवक्ताहरु युवराज संग्रौला र राघवलाल वैद्यका साथै शेरबहादुर केसीले बहस गरेका थिए।
वामदेवबारेको मुद्दाको निरुपण दसैंअघि हुने सम्भावना लगभग टरेको देखिएको छ ।
अब घटनास्थापनाअघि पर्सि शुक्रबार मात्रै संवैधानिक इजलास तोकिने दिन हो ।
आगामी शनिबार घटस्थापना हो । घटस्थापनापछि देशभरका न्यायालयमा सार्वजनिक बिदा हुन्छ । बन्दी प्रत्यक्षीकरणको निवेदन सुनुवाइका लागि सर्वोच्च अदालतलगायत आंशिक रुपमा मात्रै खुल्छन् ।







