लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते

एजेन्सी । बिहीबार मध्यरातदेखि शुक्रबार दिउँसोसम्म लेबनानमा भएको व्यापक हवाई आक्रमणमा कम्तीमा ४७ जनाको मृत्यु भएको लेबनानको सार्वजनिक स्वास्थ्य आपत्कालीन सेवा केन्द्रले शुक्रबार जारी गरेको तथ्यांकमा जनाइएको छ ।

लेबनानको दक्षिणी र पूर्वी क्षेत्र नाबातिह, टायर, बिन्त जेबेल, जेजिन र बाल्बेक जिल्लाहरूमा आक्रमण भएको केन्द्रले जनाएको छ ।

मारिनेमध्ये ऐन बोर्डेमा भएको हवाई आक्रमणमा र अर्को एक बालबेक जिल्लाको जमालियाह शहरको फार्ममा भएको हवाई आक्रमणमा मारिएका थिए। जेजिनको रिहान शहर र डेर अल–जहरानी–नबातिह राजमार्गमा ड्रोन आक्रमणबाट अन्य केहीको हताहती भएको थियो ।

अमेरिका–इरानबीच हालै हस्ताक्षर भएको समझदारी पत्रमा लेबनान लगायत सबै मोर्चामा सैन्य कारबाही अन्त्य गर्ने उल्लेख गरिएको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले एक विज्ञप्ति जारी गर्दै लेबनान विरुद्ध इजरायलले लगातार आक्रमण गरिरहेको भन्दै कडा शब्दमा निन्दा गरेका छन् ।

उनले भने, “लेबनानमा युद्ध अन्त्य गर्ने कुरा स्पष्ट रूपमा अमेरिका–इरान समझदारीको ‘अभिन्न’ हिस्सा मानिएको छ र लेबनानको वर्तमान परिस्थितिका लागि संयुक्त राज्य अमेरिका प्रत्यक्ष रूपमा जिम्मेवार छ।

बघाईले भने, “इरानले आफ्नो हित, सुरक्षा र अधिकारका साथै आफ्ना सहयोगीहरूको रक्षाका लागि सबै आवश्यक उपायहरू अवलम्बन गर्नेछ।”

यसैबीच, इजरायलको च्यानल १२ ले शुक्रबार इजरायली अधिकारीलाई उद्धृत गर्दै इजरायल र हेजबुल्लाहबीच युद्ध विराम सम्झौता भएको जनाएको छ।