ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५० सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख २४ हजार ५०३ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १०२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १४२, संकेत बत्ती उल्लंघनकर्ता १४० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २०७ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ५६, निषेधित क्षेत्रमा हर्न बजाउने १०८, निर्धारित मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन १४ र सवारीसाधनको अवस्था जाँच नगरी सडकमा निकालिएका सवारी ३५ र अन्य सवारी नियम पालना नगरेका एक हजार ७४६ जनालाई कारबाही गरिएको हो ।