भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्प : एक लाख बढीको मृत्यु भएको अमेरिकी भूगर्भ सर्वेक्षणको आशंका

काठमाडौँ। बिहीबार बिहान भेनेजुएलामा दुई शक्तिशाली भूकम्प गएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार १० हजारभन्दा बढीको मृत्यु हुने सम्भावना ४४ प्रतिशत र १ लाखभन्दा बढीको मृत्यु हुने सम्भावना ३० प्रतिशत रहेको छ।

राजधानी काराकासबाट लगभग २९० किलोमिटर पश्चिममा पहिलो ७.२ म्याग्निच्युडको र त्यसपछि केही सेकेन्डपछि ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो।

कराकस लगायत धेरै शहरहरूमा भवनहरूमा क्षति पुगेको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रिय आपतकालको घोषणा गरेकी छिन्। अहिलेसम्म ३२ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ७०० भन्दा बढी घाइते भएका छन्।

स्थानीय मिडियाका अनुसार काराकास विमानस्थलको छानाको एक भाग भत्किएर धुलोको ठूलो बादल उडेको छ। यो १२६ वर्षमा सबैभन्दा ठूलो भूकम्प हो, यसअघिको भूकम्प १९०० मा ७.७ म्याग्निच्युडको थियो।