काठमाडौँ – इन्डोनेसियाको दोस्रो ठूलो शहर सुराबायामा राष्ट्रपति प्रबोवो सुबिआन्तोको नीतिहरूको विरुद्ध र्याली तथा प्रदर्शनका क्रममा प्रहरीले दर्जनौँ प्रदर्शनकारीहरूलाई पक्राउ गरेको एक अधिकार समूहले शनिबार जनाएको छ ।
यस अघि इन्धनको मूल्यवृद्धि र प्रबोवोको प्रमुख नि:शुल्क भोजन योजनाको विरोध गर्न शुक्रबार सुराबायाको सरकारी भवन नजिकै करिब १०० जना भेला भएको एएफपीले जनाएको छ ।
केही प्रदर्शनकारीहरूले प्रहरीलाई ढुङ्गा हान्नुका साथै सरकारी संरचनामा आगलागी गर्न थाले पछि उनीहरूलाई प्रहरी अधिकारीहरूले पक्राउ गरेको जनाइएको छ । अधिकार समूह कन्ट्रास सुराबायाका संयोजक फतकुल खोइरलाई उदृत गर्दै २४ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको एफपीले जनाएको छ ।
सुराबाया प्रहरी प्रमुख लुथफी सुलिस्टियावानले अधिकारीहरूले प्रदर्शनकारीहरूलाई पछाडि धकेल्न बल प्रयोग गर्दा पनि नियन्त्रण नभए पछि पक्राउ गरिएको जनाएका छन् ।
मध्यपूर्व युद्धले विश्वव्यापी तेल आपूर्तिमा समस्या पारेको कारण दबाब कम गर्न खोज्दै प्रबोवोको प्रशासनले पेट्रोलको मूल्य करिब ३० प्रतिशतले बढाएकाले यस महिना इन्डोनेसियाका धेरै सहरहरूमा विरोध प्रदर्शन भएको जनाइएको छ ।
इन्धनको मूल्यवृद्धि र अर्बौँ डलरको नि:शुल्क भोजन योजना रोक्न माग गर्दै राजधानी जकार्तामा हजारौँ विद्यार्थीहरू सडकमा उत्रिएको जनाइएको छ ।
यो पहल प्रबोवोको राजनीतिक एजेन्डाको आधारशिला भएता पनि उपयोगी नभएको र सामूहिक खाद्य विषाक्ततासँग जोडिएको भन्दै व्यापक आलोचना प्राप्त भए पछि यसलाई आंशिक रूपमा स्थगित गरिएको जनाइएको छ ।






