सर्लाहीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप, ४० बढी घाइते

असोज, २८ सर्लाही । आज दिउसो सर्लाहिमा कांग्रेस कार्याकर्ता र प्रहरीबीच झडप भएको छ । दलित हत्याको विषयलाई लिएर कांग्रेस सांसद अमरेशकुमार सिंहसहितको टोली र प्रहरीबीच झडप भएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाही घेराउ गर्न पुगेको टोली र प्रहरीबीच झडपमा एक दर्जन प्रहरीसहित आन्दोलनकारीहरू घाइते भएका छन् ।

हातमा लाठी र झाडु बोकेर आएका उनीहरुले अचानक जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ढुंगा मुढा गर्न थालेपछि अवस्था असामान्य भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

गत २२ गते सिसौट रामनगर गाउँपालिकाका ६५ वर्षीय महेन्द्र रामको हत्या भएको थियो।

दुवै पक्षको झडपमा डीएसपीसहित प्रहरीतर्फ २२ जना घाइते भएका छन् । यस्तै प्रदर्शनकारीतर्फ पनि २० भन्दा बढी व्यक्ति घाइते भएको बुझिएको छ ।

त्यसमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरिसके पनि आफन्तले अहिलेसम्म शव बुझेका छैनन् ।

मृतकको शव अहिले वीरगन्जस्थित प्रादेशिक अस्पतालमा छ। आफन्तले १० लाख क्षतिपूर्तिसहित सहिद घोषणा गर्न माग गरिरहेको छन् ।