काठमाडौँ । पर्यटनलाई कृषिसँग जोड्दै मुलुकको अर्थतन्त्रलाई मजबुद बनाउने उद्देश्यले ‘रोपाइँ’ महोत्सव आयोजना गरिएको छ ।
तीन दशकदेखि मुलुकको ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धनमा क्रियाशील गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले आइतबार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७ सुकौरा फाँटमा रोपाईँ महोत्सव आयोजना गरेको हो ।
‘समुन्नत नेपालको प्राथमिक आधार: पर्यटन र कृषि नेपाली अर्थतन्त्रका जराधार’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको भिटोफ नेपालका अध्यक्ष हरिशरण थपलियाले बताए । स्थानीय संस्कृति, परम्परा, कृषि तथा ग्रामीण पर्यटनको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको रोपाईँ महोत्सवले ग्रामीण अर्थतन्त्रमा विशेष योगदान पुर्याउनेमा उनले विश्वास व्यक्त गरे ।
त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले पर्यटन र कृषिलाई नेपाली अर्थतन्त्रको मेरुदण्ड बनाउनका लागि यस्ता महोत्सवले सहयोग पुग्ने बताए। गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले स्थानीय तहले पछिल्लो समय पर्यटनलाई मुख्य प्राथमिकता दिएर नीति तथा कार्यक्रम बनाएको बताए।
भिटोफका संस्थापक महासचिव शम्भु पाठकले पर्यटनसँग जोडिएका यस्ता कार्यक्रमले ग्रामीण विकासमा इँटा थप्ने बताउँदै सबैलाई पर्यटन अभियानमा समर्पित हुन आग्रह गरे ।
महोत्सवमा भिटोफका प्रमुख सल्लाहकार आलोक प्रसाईं, सल्लाहकार दीपक दाहाल, पर्यटन महिला सञ्जालकी पूर्व अध्यक्ष निर्मला धमला, भिटोफका पूर्वअध्यक्ष बोधराज भण्डारी र शिव लामिछानेको सहभागिता रहेको थियो । महोत्सवले स्थानीय पर्यटन र कृषिको प्रचारप्रसारमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।







