बढी भाडा असुल्ने सय भन्दा बढी सवारी साधनलाई कारवाही

काठमाडौं, असोज २९ ।
ट्राफिक प्रहरीले बढी भाडा लिने ४४ गाडी र ६६ ट्याक्सीलाई कारबाही गरेको छ । ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक सवारीसाधनको अनुगमन गरी बढी भाडा लिनेलाई कारबाही गरेको जनाएको हो ।

महाशाखाले क्षमताभन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने भाडाका सवारीसाधन, मिटरमा जान नमान्ने र यात्रु लिन इन्कार गर्ने ट्याक्सीको अनुगमन र कारबाही गरेको हो । यात्रुको चाप बढी हुने रुटमा विशेष चेक प्वाइन्टहरू राखी सवारीसाधनको जाँचमा कडाइ पारिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

उनका अनुसार चाडपर्वलक्षित विशेष योजनालाई मध्यनजर गरी सादा पोसाकमा समेत ट्राफिक प्रहरी खटाएर बढी भाडा लिनेविरुद्ध कारबाही अभियान चलाइएको छ ।

उनले यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गरी उपत्यकाका बसपार्क एव मुख्य भिडभाड हुने चोकहरूमा जाँच गरी स्वास्थ्य मापदण्ड पालना गरे–नगरेको र यात्रुसँग बढी भाडा लिने गरे–नगरेको अनुगमनलाई तीव्रता दिई थप कडा कारबाही गर्न थालेको बताए ।

असोज महिनामा मात्रै सिट क्षमताभन्दा बढी यात्रु राख्ने, स्वास्थ्य मापदण्ड पालना नगर्ने १५ हजार चार सय ५१ वटा सवारीसाधनलाई सम्झाइबुझाई गरी सुधार गर्ने प्रतिबद्धतापश्चात् छाडेको ढकालको भनाइ छ ।

महाशाखाले यात्रुको सुरक्षामा ध्यान दिन, क्षमताभन्दा बढी यात्रु नराख्न र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नसमेत सबै यातायात व्यवसायी एवं यात्रुमा अनुरोध समेत गरेको छ ।