तानसेन (पाल्पा) । पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथिको ‘सिग्नेचर ब्रिज’ निर्माण अन्तिम चरणमा पुगेको छ ।
गण्डकी र लुम्बिनी प्रदेश जोड्ने गरी सिद्धार्थ राजमार्गअन्तर्गत निर्माण थालिएको पुलको काम हालसम्म ९५ प्रतिशत सकिएको पुल सेक्टर पोखराका आयोजना प्रमुख सिडिई कृष्णराज अधिकारीले बताए ।
विसं २०२८ मा बनेको ‘स्टिल ट्रस’ पुल जीर्ण हुँदै गएपछि नयाँ प्रविधिको ‘सिग्नेचर ब्रिज’ को निर्माण गरिएको हो । हाल सञ्चालनमा रहेको ९३ मिटर लामोस्टिल पुलभन्दा केही तल १२३ मिटर लामो आधुनिक सिग्नेचर पुल निर्माण भइरहेको छ ।
पैदलयात्रुका लागि फुटपाथसहित ११ मिटर चौडाइ रहने पुल ४० टन भारवहन क्षमता हुनेछ । सडक विभागअन्तर्गत पुल महाशाखाले सर्वेक्षण गरी अघि बढाइएको पुल ‘सिएएफएसआरआई स्टिल ट्युब आर्क’ प्रविधिमा निर्माण भइरहेको छ ।
विसं २०८२ असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी हिम सगरमाथा कन्ट्रक्सन प्रालिसँग २०७९ असार ३० गते पुल निर्माणको ठेक्का सम्झौता भएको थियो ।
करिब रु २७ करोड ७१ लाख नौ हजार लागत निर्माण सम्झौता रहेको १२० मिटर पुलमा लम्बाइको पुलमा पछि तीन मिटर थप गरिएको आयोजना प्रमुख अधिकारीले बताए।
ठूला भारवहन क्षमताका सवारीसाधन राम्दीको हालको पुलमा सञ्चालन हुन नसक्दा मालसामान ढुवानीमा कठिनाइ भएको थियो । नयाँ पुल निर्माणको काम अन्तिम चरणमा पुगेसँगै सामन ढुवानीकर्ता, उद्योगी, व्यापारी तथा उपभोक्ता खुसी हुन भएको पाइएको छ । राम्दी क्षेत्र आफैँमा व्यापारिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।







