काठमाडौं – काठमाडौं उपत्यकासहित देशभर एक सय स्थानमा बर्डफ्लुको सङ्क्रमण फैलिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबैलाई सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले बर्डफ्लु सङ्क्रमणबाट बच्न आवश्यक सतर्कता अपनाउँदै सुरक्षित रहन सबैलाई आग्रह गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले काठमाडौँ उपत्यकासहित मुलुकका एक सय स्थानमा बर्डफ्लु फैलिएको भन्दै आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभयो । उहाँका अनुसार सङ्क्रमित, बिरामी वा मरेका पन्छीसँग प्रत्यक्ष सम्पर्क हुनेगरी कामरगतिविधि नगर्न सरोकार भएका सबैलाई आग्रह गरिएको छ ।
त्यस्तै पन्छीको मासु र अण्डा राम्रोसँग पकाएर मात्र खान, मृत पन्छी देखिएमा नजिकको पशु सेवा निकायमा जानकारी गराउन पनि मन्त्रालयले आग्रह गरेको छ । पशु सेवा विभागका अनुसार अहिलेसम्म ११ जिल्लाका एक सय स्थानमा बर्डफ्लुको सङ्क्रमण देखिएको छ ।
‘बर्डफ्लु पन्छीमा लाग्ने इन्फ्लुएन्जा भाइरसबाट हुने सङ्क्रामक रोग हो । कहिलेकाही सङ्क्रमित पन्छीसँग प्रत्यक्ष सम्पर्कमा आएका मानिसमा पनि यसको सङ्क्रमण सर्न सक्छ । तर व्यक्ति(व्यक्तिबीच सजिलै यो रोग सर्दैन’, डा अधिकारीले भने।
कसरी सर्छ मानिसमा ?
सङ्क्रमित पन्छीलाई छुँदा वा समात्दा, पन्छीको दिसा, सिगानसँंग सम्पर्क हुँदा, सङ्क्रमित पन्छी राख्ने स्थान सफा गर्दा र मरेको पन्छीको मासु खाँदा बर्डफ्लु मानिसमा सर्ने डा अधिकारीले जानकारी दिए ।
ज्वरो आउनु, खोकी लाग्ने, घाँटी दुख्ने, श्वास फेर्न गाह्रो हुने, शरीर तथा मासपंशी दुख्ने, अत्यधिक थकान महसुस हुने, वाकवाकी लाग्ने, वान्ता हुने वा पखाला लाग्नेजस्ता लक्षण देखिने गर्दछन् ।







