शुक्लाफाँटाका पाँच नगर गौरवका योजना कार्यान्वयनको चरणमा

असोज २९, कञ्चनपुर ।
शुक्लाफाँटा नगरपालिकाले पाँच वटा नगर गौरवका योजना चालू आर्थिक वर्षमै कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । नगरसभाबाट छनोट गरिएका नगर गौरवका योजना कार्यान्वयनका लागि भौतिक पूर्वाधार निर्माणका कार्य शुरु गर्न लागिएको छ ।

नगरपालिकाका सूचना अधिकारी विष्णुप्रसाद खरेलका अनुसार नगर गौरवका योजनामा नगर अस्पताल, कभर्डहल, चिस्यान केन्द्र, बसपार्क र नगर उद्यानलगायत छन् । नगर अस्पतालको पूर्वाधार निर्माण, कभर्डहल र चिस्यान केन्द्रका लागि २५÷२५ लाख रूपैयाँ बजेट छुट्याइएको छ ।

यसैगरी बसपार्क र नगर उद्यानका पूर्वाधार निर्माणका लागि भने पाँच÷पाँच लाख बजेट विनियोजन गरिएको छ । ‘विनियोजन गरिएको बजेटबाट ठेक्का प्रक्रियामार्फत पूर्वाधार निर्माणका कार्य शुरु हुन्छन्,’ सूचना अधिकारी खरेलले भने, ‘चालू आर्थिक वर्षदेखि नगर गौरवका योजनाका भौतिक पूर्वाधार निर्माणको कार्य शुरु गरी दुई वर्षभित्र निर्माणकार्य पूरा गर्ने लक्ष्य लिइएको छ ।’ उनले आउने वर्ष पूर्वाधार विकासका लागि अपुग रकमको व्यवस्था गरी योजनालाई पूर्णता दिइने बताए ।

त्यसैगरी नगरपालिकाले नगरभित्रका छाडा पशु व्यवस्थापन गर्न रु ४० लाख, वडा नं २ र ९ को वडा कार्यालय निमार्णका लागि रु एक करोड ८० लाख बजेट परिचालन गरेको छ । शिक्षा क्षेत्रको विकासका लागि रु एक करोड २० लाख, स्वास्थ्यतर्फ रु एक करोड सात लाख छुट्याइएको छ ।

वैकल्पिक ऊर्जाका लागि रु ५० लाख र पशुपालन र उपचारका लागि रु १० लाख छुट्याइएको छ । यसैगरी महिला तथा बालबालिकाका लागि रु १५ लाख रकम विनियोजन भएको छ भने न्यायिक समितिमा रु पाँच लाख बजेट विनियोजन गरिएको छ । भूमि तथा नापीका लागि रु तीन लाख रकम विनियोजित गरिएको छ । (रासस)