असोज २९, कञ्चनपुर ।
नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै पश्चिमी सीमानाका गड्डाचौकीमा बिहीबार सहायताकक्ष स्थापना गरिएको छ ।
सीमानाका हुँदै आउने यात्रुलाई सहायता प्रदान गर्नका लागि सहायताकक्ष स्थापना गरिएको हो । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले कक्षको उद्घाटन गरेका थिए ।
कक्ष उद्घाटन गर्दै उनले सीमानाका भएर आवतजावत गर्ने व्यक्तिको सहजीकरण गरिनुका साथै आपतविपतमा परेका व्यक्तिको उद्धारमा सहायताकक्ष सहयोगी हुने बताए ।
उनले भने, ‘दशैँ, तिहार र छठपर्वमा सीमा क्षेत्र भएर ओहरदोहर गर्ने यात्रुको निकै भीडभाड हुने भएकाले लुटपाटलगायतका घटनासँंगै आपराधिक क्रियाकलाप बढ्न सक्छन् । त्यस्ता कार्यलाई निरुत्साहित गर्नका लागि सशस्त्र प्रहरी बल नेपाल, भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग आवश्यक समन्वय गरी दशगजा क्षेत्रमा संयुक्त गस्तीलाई प्रभावकारीरूपमा परिचालन गरिने व्यवस्था गरिएको छ ।’
चाडपर्वका बेला सीमा क्षेत्रमा यात्रुको चाप बढेसँगै आपराधिक मनोवृत्तिका व्यक्ति तथा आपराधिक समूहबाट हुनसक्ने चोरी, डकैती, लुटपाट, हत्या, हिंसा बलात्कारजस्ता घटनालाई न्यूनीकरण गरी शान्ति शुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले नागरिक सहायताकक्ष स्थापना गरी कार्यान्वयनमा ल्याइएको सशस्त्र प्रहरी बल नेपाल नं ३५ हेडक्र्वाटर शैलेश्वरी झलारी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए ।
‘भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँगसमेत समन्वय गरी सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप र अवाञ्छित कार्य रोक्नका लागि काम अगाडि बढाएका छौँ’, उनले थपे, ‘सीमा क्षेत्र भएर आउने नागरिकले सहायताकक्षमा समस्यामा परेको कुराको जानकारी गराए तत्कालै समस्या समाधानका लागि तत्पर हुने व्यवस्था गरिएको छ ।’
उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐर र भारतीय सीमा शुरक्षा बल (एसएबी) का ५७ बटालियनका सीतारगञ्जका प्रमुखको समेत सहभागिता थियो ।
यसैगरी मङ्गलबार नेपाल–भारत सीमा क्षेत्र डोकेबजार (गौरीफण्टा) मा संयुक्त सहायताकक्ष स्थापना गरिएको छ । पुर्नवास नगरपालिका–११ डोकेबजारमा स्थापना गरिएको नेपाल–भारत संयुक्त सहायताकक्षको नगरप्रमुख जीवनराज थापाले उद्घाटन गरेका थिए । (रासस)







