सिरहाका ४५ उद्योगको दर्ता खारेज

असोज २९, सिरहा ।
घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाले आर्थिक वर्ष २०७६÷७७ मा सप्तरीका ४५ वटा उद्योगको दर्ता खारेज गरेको छ ।

लामो समयसम्म नवीकरण नगराएका र कुनै कारोबारसमेत नगरेको भन्दै घरेलु तथा साना उद्योग कार्यालय लहानले ४५ वटा उद्योगको दर्ता खारेज गरेको हो ।

दर्ता गराएर पनि लामो समयसम्म नवीकरण नगराउने र कुनै कारोबार नगर्ने उद्योगको दर्ता खारेज गरिएको घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दीपेन्द्रकुमार यादवले जानकारी दिए ।

त्यस्तै आर्थिक वर्ष २०७६÷७७ मा सो कार्यालयमा एक हजार एक सय ४४ नयाँ उद्योग दर्ता भएको र चार सय ४५ उद्योगको नवीकरण गरिएको समेत प्रमुख यादवले बताए । अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा सो कार्यालयले ३० उद्योगको दर्ता खारेज गरेको थियो । (रासस)