इरानमा अमेरिकी आक्रमण जारी, बुशेहरका सैन्य अड्डामा विष्फोट

काठमाडौं । अमेरिकाले इरानमाथि जारी राखेको आक्रमणका क्रममा पछिल्लो पटक बुशेहर प्रान्तका विभिन्न क्षेत्रमा शक्तिशाली विस्फोट भएका छन्।

इरानको सरकारी प्रसारक आईआरआईबी  का अनुसार प्रान्तका विभिन्न स्थानमा कम्तीमा १२ वटा विस्फोटको आवाज सुनिएको छ। तीमध्ये बन्दर-ए-देयर बन्दरगाह क्षेत्रमा पाँच, असालुयेहमा चार र बुशेहर सहरमा तीन वटा विस्फोट भएको जनाइएको छ।

यसैबीच, आईआरआईबीका एक संवाददातालाई उद्धृत गर्दै इरानी समाचार एजेन्सी स्टुडेन्ट न्यूज नेटवर्क ले बुशेहरको रिषेह क्षेत्रमा रहेको एक सैन्य ब्यारेकमाथि आक्रमण भएको जनाएको छ। साथै, कङ्गान सहरमा पनि विस्फोट भएको खबर आएको छ।

संवाददाताका अनुसार बन्दर-ए-देयरस्थित एक सैन्य चौकी पनि आक्रमणको निशानामा परेको छ। आक्रमणबाट भएको क्षतिको विवरण तथा सम्भावित मानवीय हताहतीबारे भने तत्काल कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।