सुकुमवासी व्यवस्थापनको मागसहित माइतीघरमा प्रदर्शन

काठमाडौँ। सुकुम्वासीको स्थायी व्यवस्थापनको माग गर्दै संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाको नेतृत्वमा आइतबार काठमाडौँको माइतीघर क्षेत्रमा प्रदर्शन गरिएको छ।

प्रदर्शनमा मोर्चासँग आबद्ध प्रतिनिधिहरू, सुकुम्वासी समुदायका सदस्य तथा विभिन्न सरोकारवाला पक्षको सहभागिता रहेको थियो। सहभागीहरूले भूमिहीन तथा सुकुम्वासीको समस्या समाधानका लागि सरकारले प्रभावकारी पहल गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन्।

प्रदर्शनका क्रममा उनीहरूले सुकुम्वासी व्यवस्थापनको प्रक्रिया शीघ्र अघि बढाउन सरकारसँग माग गरेका छन्। साथै, हालै पक्राउ परेका व्यक्तिहरूलाई बिना कुनै सर्त तत्काल रिहा गर्नुपर्ने मागसमेत राखेका छन्।

प्रदर्शनकारीहरूले सुकुम्वासी समस्या दीर्घकालीन रूपमा समाधान गर्न राज्यले आवश्यक नीति, योजना तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।