काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले नियन्त्रणमा लिएर उनको निवाससम्म पुर्याएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार प्रसाईँले विमानस्थल परिसरमै सार्वजनिक कार्यक्रम आयोजना गर्न खोजेका थिए।
विमानस्थलको निषेधित क्षेत्रमा यस्ता गतिविधि सञ्चालन गर्न कानुनी रूपमा अनुमति नभएकाले प्रहरीले उनलाई त्यहाँबाट नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा लिएपछि उनलाई भक्तपुरस्थित आफ्नै निवासमा पुर्याइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार विमानस्थल क्षेत्र सुरक्षा संवेदनशील स्थान भएकाले निषेधित क्षेत्रमा कुनै पनि किसिमका सार्वजनिक कार्यक्रम, सभा वा गतिविधि गर्न अनुमति दिइँदैन।






