बीरेन्द्रनगर। जाजरकोट जिल्लाको भेरी नगरपालिका–२ राङ्सीमा अविरल वर्षापछि आएको पहिरोमा परी एक वृद्धाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
पहिरोले राङ्सीस्थित टिनको अस्थायी टहरामाथि ढिस्को खस्दा ६७ वर्षीया जयशिला शाहको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
उक्त टहरा भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराएको ५० हजार रुपैयाँ अनुदानबाट निर्माण गरिएको थियो।
घटनामा मृतककी ४० वर्षीया छोरी मेनुका शाह थापा र ७ वर्षीया नातिनी टीका थापा घाइते भएका छन्। स्थानीयवासीले उनीहरूको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका छन्। दुवैको उपचार भइरहेको जनाइएको छ।
अविरल वर्षासँगै जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम बढ्दै गएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन र आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।






