एजेन्सी । इरानको रूढीवादी पत्रिका ‘हमशहरी’ले दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्याको बदला लिने उद्देश्यले लक्षित गरिने भनिएका अमेरिकी, इजरायली तथा युरोपेली नेताहरूको नाम समेटिएको सूची सार्वजनिक गरेको छ ।
गत फेब्रुअरी २८ मा भएको अमेरिकी–इजरायली आक्रमणमा खामेनीको मृत्यु भएपछि उनका छोरा तथा सम्भावित उत्तराधिकारी मोजताबा खामेनीले बदला लिने प्रतिबद्धता जनाएका थिए ।
अन्त्येष्टिपछि जारी गरिएको आफ्नो पहिलो सार्वजनिक सन्देशमा मोजताबाले ‘बदला लिनु इरानी जनताको चाहना भएको’ भन्दै यो अवश्य कार्यान्वयन हुने दाबी गरेका थिए । उनले सूचीमा परेका व्यक्तिहरूले सहज र शान्तिपूर्ण मृत्युको अपेक्षा गर्न नसक्ने चेतावनीसमेत दिएका थिए ।
तेहरान महानगरपालिकाको स्वामित्वमा रहेको ‘हमशहरी’ पत्रिकाले शनिबार राति आफ्नो अनलाइन संस्करणमा मोजताबाको भनाइसँगै १३ विदेशी नेताको तस्बिर समेटिएको एक इन्फोग्राफिक प्रकाशित गरेको हो ।
यद्यपि, मोजताबाको सन्देशमा लक्षित व्यक्तिहरूको सूची तयार गरिएको उल्लेख भए पनि कुनै नाम सार्वजनिक गरिएको थिएन । पत्रिकाले सार्वजनिक गरेको सूचीलाई इरानी सरकार वा अन्य आधिकारिक निकायले अनुमोदन गरेको पुष्टि भएको छैन । साथै, उक्त सूची आइतबार प्रकाशित भएको पत्रिकाको मुद्रित संस्करणमा समेत समावेश गरिएको छैन ।
प्रकाशित इन्फोग्राफिकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, बेलायती प्रधानमन्त्री केयर स्टार्मर, अमेरिकी विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ, फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँ, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी र जर्मनीका चान्सलर फ्रेडरिक मर्जलगायतका नेताहरूको नाम समावेश गरिएको छ ।
इरानले यसअघि युद्धका क्रममा केही युरोपेली राष्ट्रहरूले आफ्नो भूमिमाथि भएको आक्रमणको विरोध नगरेको र अमेरिकी सैन्य विमानलाई हवाई क्षेत्र प्रयोग गर्न अनुमति दिएर आक्रमणमा सहयोग गरेको आरोप लगाउँदै आएको थियो ।
समाचारअनुसार युद्ध सुरु भएयता मोजताबा खामेनी सार्वजनिक रूपमा देखिएका छैनन् । उनका अनुसार खामेनीको हत्या भएको आक्रमणमा उनी आफैं पनि घाइते भएका थिए ।







