काठमाडौँ । दोलखाको कालिन्चोक गाउँपालिका–१ को क्याङ्पोल क्षेत्रमा आइतबार राति गएको पहिरोमा परी चार महिनाकी बालिका एलिना थामीको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्।
आइतबार राति करिब ९ बजे सुनखानी–साङवा सडकखण्डअन्तर्गत क्याङ्पोल–हेलेक्पाथाली आसपास खसेको पहिरोले स्थानीय दीपेन्द्र थामीकी १९ वर्षीया पत्नी शर्मिला थामी र उनकी चार महिनाकी छोरी एलिनालाई बगाएको थियो।
घटनापछि स्थानीयवासीले तत्काल उद्धार गरी दुवैलाई प्रारम्भिक उपचारका लागि दोलखा अस्पताल पुर्याएका थिए। त्यसपछि थप उपचारका लागि उनीहरूलाई धुलिखेल अस्पताल लगिएको थियो।
धुलिखेल अस्पतालमा उपचारका क्रममा चिकित्सकले चार महिनाकी एलिनालाई मृत घोषणा गरेका थिए। गम्भीर घाइते शर्मिला थामीलाई थप उपचारका लागि काठमाडौँस्थित अस्पतालमा रिफर गरिएको कालिन्चोक गाउँपालिका–१ का वडाध्यक्ष पदम थामीले जानकारी दिएका छन्।







