मोदी खोलाको बाढीले सडक बगाएपछि घान्द्रुकमा ३०० पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आएको बाढीले पक्की सडक बगाएपछि पर्यटकीय गाउँ घान्द्रुक जाने सडक अवरुद्ध भएको छ । सडक सम्पर्क टुटेसँगै घान्द्रुक घुम्न पुगेका करिब ३०० पर्यटक त्यहीँ रोकिएका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमा क्षेत्र स्याउलीबजार नजिक मोदी खोलाले सडक कटान गरेपछि नयाँपुल–विरेठाँटी–घान्द्रुक सडकखण्डमा यातायात बन्द भएको हो ।

अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोला थुनिएर आएको बाढीका कारण मोदी खोलामा आएको ठूलो बहावले सडक बगाएको स्थानीयले बताएका छन् । पैदल यात्रुका लागि भने समस्या नरहेको भए पनि आफ्नै सवारीसाधन लिएर घान्द्रुक पुगेका पर्यटकहरू फर्किन नसकेका हुन् ।

घान्द्रुक पर्यटन व्यवसायी समितिका कोषाध्यक्ष कृष्ण गुरुङका अनुसार तीन दिनको बिदा मनाउन घान्द्रुक पुगेका करिब ३०० पर्यटक अहिले सडक खुल्ने प्रतीक्षामा छन् ।

“खोलाले सडक बगाएपछि अहिले सवारी सञ्चालन हुन सकेको छैन । धेरै पर्यटक आफ्नै सवारी लिएर आउनुभएको छ, त्यसैले उहाँहरू बाटो खुल्ने पर्खाइमा हुनुहुन्छ,” गुरुङले बताए ।

मोटरसाइकल र स्कुटरमा आएका पर्यटकलाई वैकल्पिक मार्गमार्फत विरेठाँटीसम्म पुर्‍याउने प्रयास भइरहेको गाउँपालिकाले जनाएको छ । घान्द्रुक–खुलिबाङ–मोहरिया–तमु हुँदै विरेठाँटी जोड्ने कच्ची सडक मर्मतको काम भइरहेको छ ।

अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले पर्यटक तथा एबिसी पदयात्रामा गएका यात्रुहरू समस्यामा परेपछि स्थानीय प्रशासन र प्राविधिक टोलीसहित सडक खुलाउने प्रयास भइरहेको जानकारी दिए ।

उनका अनुसार पानी पर्न कम भएसँगै नदीको बहाव पनि घटेको छ । सडक बगाएको स्थानमा एकतर्फी रूपमा भए पनि यातायात सञ्चालन गर्न सकिन्छ कि भन्ने विषयमा प्रशासनसँग छलफल भइरहेको छ ।

अन्नपूर्ण गाउँपालिका–११ मा पर्ने घान्द्रुक अन्नपूर्ण आधार शिविर (एबिसी) र घोरेपानी–पुनहिल पदयात्राको प्रमुख प्रवेशद्वारका रूपमा परिचित पर्यटकीय गन्तव्य हो ।