माजिद अन्सारीको स्वास्थ्य अवस्था बुझ्दै श्रेष्ठले दमन बन्द गर्न सरकारसँग माग गरे

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर उपचाररत जेनजी अभियन्ता तथा कानुनका विद्यार्थी माजिद अन्सारीको स्वास्थ्य अवस्था बुझ्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरबाट माजिद अन्सारी, सरिस्मा थापा र नहेन्द्र खड्कालाई प्रहरीले दुर्व्यवहारपूर्ण ढंगले पक्राउ गरेको आरोप लगाएका छन्। उनका अनुसार पक्राउपछि माजिद अन्सारीमाथि कुटपिट भएको र त्यसकै कारण उनी हाल शिक्षण अस्पतालमा उपचाररत छन्।

श्रेष्ठले भूमिहीन सुकुम्बासीमाथि भएको अन्यायको विरोध गर्दै संविधान र कानुनको पालना गर्न सरकारलाई खबरदारी गरेको कारण उनीहरूमाथि दमन गरिएको दाबी गरेका छन्। सरिस्मा थापा र नहेन्द्र खड्कालाई सोही राति रिहा गरिए पनि उपचाररत माजिद अन्सारीको कानुनी अवस्थाबारे प्रहरी प्रशासनले अहिलेसम्म स्पष्ट जानकारी नदिएको उनको भनाइ छ। अन्सारीलाई पक्राउ पुर्जी नदिइएको र उनी हिरासतमा छन् वा स्वतन्त्र छन् भन्ने विषयमा समेत अन्योल रहेको श्रेष्ठले उल्लेख गरेका छन्।

उनले संविधानप्रदत्त अधिकारको प्रयोग गर्दै न्यायको पक्षमा आवाज उठाउने नागरिकमाथि दमन, धरपकड, यातना र धम्की दिने कार्य तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन्।

उता, कानुनका विद्यार्थी समेत रहेका माजिद अन्सारीले आफूलाई असार २७ गते साँझ करिब ५ बजे १०–१२ जना प्रहरीले लछारपछार गर्दै कुटपिट गरेको आरोप लगाएका छन्। हाल शिक्षण अस्पतालमा उपचाररत अन्सारीले अहिलेसम्म आफ्नो पक्राउको कारणबारे कुनै जानकारी नदिइएको, पक्राउ पुर्जी नदेखाइएको तथा पक्राउको कानुनी हैसियतसमेत स्पष्ट नगरिएको बताएका छन्।

उनले गृहमन्त्री र प्रहरी नेतृत्वसँग आफूविरुद्ध गरिएको कारबाहीको कारण सार्वजनिक गर्न माग गर्दै आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकाय, संघीय संसदका सदस्य, प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय तथा मानव अधिकारकर्मीहरूलाई आग्रह गरेका छन्।