मनसुन सक्रिय बन्दै: पूर्वी भूभागमा प्रभाव पर्न सक्ने, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले नेपालको पूर्वी क्षेत्रमा मनसुनको प्रभाव आज पनि कायम रहने जनाएको छ। विभागले मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। उनले ती क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता विपद्को जोखिम हुनसक्ने भएकाले सावधानी अपनाउन सुझाव दिए।

उनका अनुसार भारी वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात क्षेत्रमा समेत असर पर्न सक्ने सम्भावना छ। विभागले मौसमसम्बन्धी पछिल्लो जानकारी लिइरहन पनि आग्रह गरेको छ।

विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा केही माथि रही तराई भू–भाग नजिक अवस्थित छ।

तीन दिनको मौसम पूर्वानुमान

मौसम पूर्वानुमानअनुसार आज राति देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका केही भू–भागमा मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ।

बुधबार दिउँसो पनि देशभर सामान्य बदली रहने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पहाडी र तराई क्षेत्रका केही स्थानमा पनि मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ।

बुधबार राति देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थान तथा अन्य केही हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

बिहीबार दिउँसो देशभर सामान्य बदली रहने तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्ने विभागले जनाएको छ।

विभागको बुलेटिनअनुसार पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा थोरै स्थानमा समेत वर्षा हुनसक्ने अनुमान गरिएको छ।

बिहीबार राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।