आज ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ । देशका ४४ जिल्लामा आज आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाहीलगायत ३९ जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने र आकस्मिक बाढीको जोखिम रहेको छ।

त्यस्तै, गोरखा, लमजुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया, कैलालीलगायत जिल्लाका साना नदीमा पानीको बहाव बढ्ने सम्भावना रहेकाले मध्यम जोखिम रहेको विभागले जनाएको छ।

चितवन, तनहुँ, कास्की, स्याङ्जा र सुर्खेतसहित आसपासका क्षेत्रमा पनि साना नदीमा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको बताइएको छ।

बाढीविद् विनोद पराजुलीले बुधबार र बिहीबार सातै प्रदेशका साना नदी तथा खोलामा जलसतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।