महाधिवेशनको तयारीमा पशुपन्छी औषधि व्यवसायी संघ, देशभरका १,८०० व्यवसायी सहभागी हुने

काठमाडौं। नेपाल पशुपन्छी औषधि व्यवसायी संघको लामो समयदेखि प्रतिक्षामा रहेको केन्द्रीय १५औँ राष्ट्रिय महाधिवेशन तथा ३५औँ वार्षिक साधारण सभा आगामी २०८३ साल मंसिर २५ र २६ गते काठमाडौंमा आयोजना हुने भएको छ। संघले महाधिवेशनको तयारीलाई औपचारिक रूपमा अघि बढाएको जनाएको छ।

संघको विधानअनुसार महाधिवेशन २०८२ साल पुसभित्र सम्पन्न हुनुपर्ने भए पनि विभिन्न कारणले करिब एक वर्ष ढिलो हुन पुगेको थियो। निर्धारित समयमा महाधिवेशन हुन नसकेपछि संघको वर्तमान नेतृत्वको कार्यशैलीमाथि व्यवसायी वृत्तमा प्रश्न उठ्दै आएको थियो।

संघका पूर्वअध्यक्ष तथा वरिष्ठ व्यवसायीहरूले समयमै महाधिवेशन सम्पन्न नहुँदा संस्थाको वैधानिकता र संस्थागत विश्वसनीयतामाथि नै प्रश्न उठ्न सक्ने चेतावनी दिँदै तत्काल नयाँ नेतृत्व चयनका लागि महाधिवेशन गर्नुपर्ने माग गर्दै आएका थिए।

यता संघका अध्यक्ष रितेश रिमालले भने सदस्यता अद्यावधिक प्रक्रिया, देशव्यापी रूपमा देखिएको जेनेजी आन्दोलन तथा अन्य प्राविधिक कारणले निर्धारित समयमा महाधिवेशन आयोजना गर्न नसकिएको बताएका छन्। उनका अनुसार आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेकाले अब विधानअनुसार महाधिवेशन सम्पन्न गरिनेछ।

हाल संघमा देशभरका करिब १,८०० पशुपन्छी औषधि व्यवसायी आबद्ध रहेका छन्। दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ केन्द्रीय नेतृत्व चयन गर्नुका साथै संघको भावी नीति, कार्यक्रम र व्यावसायिक रणनीति तय गरिनेछ।

लामो समयपछि हुन लागेको महाधिवेशनलाई व्यवसायीहरूले संघको नेतृत्व परिवर्तन र संस्थागत सुदृढीकरणको अवसरका रूपमा हेरेका छन्। संघले महाधिवेशनलाई सफल बनाउन सम्पूर्ण सदस्य, प्रतिनिधि तथा सरोकारवालालाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।

यसैबीच, नेपाल पशुपन्छी औषधि व्यवसायी संघको बागमती जिल्ला शाखाले आगामी साउन ८ गते काठमाडौंको स्वयम्भूस्थित क्वालिटी प्यालेसमा आयोजना हुने दोस्रो जिल्ला अधिवेशनका अवसरमा सञ्चारमाध्यमलाई औपचारिक रूपमा आमन्त्रण गरेको छ। शाखाका सचिव शरणकुमार खनालद्वारा जारी सूचनामा अधिवेशनको समाचार सम्प्रेषण तथा कार्यक्रमको गरिमा अभिवृद्धिका लागि सञ्चारकर्मी र सञ्चार संस्थाहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ।