संचार सम्बन्धी चार वटा नीति पुनरावलोकन गर्न कार्यदल गठन

असोज, २९ काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले संचार सम्बन्धि बिभिन्न चार वटा नीति पुनरावलोकन गर्न कार्यदल गठन गरेको छ ।

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सञ्चारमन्त्रीको पदभार ग्रहण गर्दै कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरे ।

मन्त्रालयका सचिव हरिप्रसाद बस्यालका अनुसार दुरसञ्चार नीति, साइबर सुरक्षा नीति, ब्रोड बैंक नीति र सूचना तथा प्रविधि नीति पुनरावलोकन गर्नका लागि ९ सदस्यीय कार्यदल गठन भएको हो ।

कार्यदलको संयोजकमा सचिव बस्याल नै छन् । सदस्यहरुमा सञ्चारमहाशाखाको प्रमुख, फ्रिक्वेन्सी महाशाखाको प्रमुख, फ्रिक्वेन्सी व्यवस्थापन प्रशासन महाशाखाको प्रमुख, दुर सञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक, राष्ट्रिय योजना अयोगका सहसचिव लगायत ८ जना रहेका छन् ।

कार्यदलले चालु आर्थिक वर्ष भित्रै चारवटै नीति पुनरावलोकनको मस्यौदा तयार पारेर पेश गर्ने सचिव बस्यालले जानकारी दिए ।

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्याक्रममा यी चार वटै नीति पुनरावलोकन गरिने उल्लेख गरेको छ । सोही अनुसार कार्यदल गठन गरेर काम अगाडि बढाउन खोजिएको मन्त्रालयले जनाएको छ ।

पदभार ग्रहण गर्दै मन्त्री गुरुङले पनि समयाअनुकुल नीतिहरु परिवर्नत गरेर जाने बताए ।

सबै मन्त्रालयको सूचनालाई एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था मिलाउने विषयलाई प्राथमिकतामा राख्ने उल्लेख गरे । कुनै मन्त्रालयमा गलत कुराहरु भए त्यसको अनुसन्धान गरेर बाहिर ल्याउनकालागि मन्त्रालयले काम गर्ने उनको भनाई छ ।

यस्तै, मन्त्री गुरुङले आफुलाई सञ्चार क्षेत्र बुझेको छैन भनेर गलत सुझाव दिनेमाथि कारबाही गरिने पनि बताएका छन् । गलत सूचना दिने तथा गलत ढंगले सल्लाह दिए सम्बन्ध नमिठो हुने उनको चेतावनी छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री रहेका गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका हुन् । सञ्चारमन्त्रीको पदभार ग्रहण गर्दै उनले पारदर्शी ढङ्गले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आफ्नो कार्यकालको १०० दिनमा गलत अभ्यासको पहिचान गरेर अन्त्य गर्ने पनि उनले प्रतिवद्धता व्यक्त गरे ।