काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षा हुने सम्भावना रहेको भन्दै सर्वसाधारण तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आज र भोलि (आइतबार) कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अत्यधिक वर्षा हुन सक्नेछ। साथै, देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्र, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका तराईका अधिकांश स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका केही तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
प्राधिकरणका अनुसार निरन्तर वर्षासँगै आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र नदी कटानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउनुपर्ने अवस्था रहेको छ। अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न र जोखिमयुक्त जिल्लामा रातिको सवारी सञ्चालनमा विशेष सतर्कता अपनाउन सम्बन्धित निकायलाई पनि अनुरोध गरिएको छ।
विशेषगरी पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लामा रातिको समयमा सवारी सञ्चालन गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ।
प्राधिकरणका प्रवक्ता शान्ति महतले तीनवटै सुरक्षा निकाय, स्थानीय तह तथा स्वयंसेवकलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएकी छन्। जोखिमयुक्त राजमार्ग तथा सडकखण्डमा डोजर, एक्साभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न र आवश्यक परे पूर्वसूचनाका आधारमा जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
यस्तै, नदी तथा खोलाको तटीय क्षेत्र, पहिरोको उच्च जोखिम भएका स्थान र खोला किनारका बस्तीमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्क रहन अनुरोध गरिएको छ। विपद्सम्बन्धी सूचना तथा आपत्कालीन सहयोगका लागि सम्बन्धित निकायका हटलाइन सेवाको उपयोग गर्न र जल तथा मौसम विज्ञान विभाग तथा प्राधिकरणबाट जारी हुने अद्यावधिक पूर्वानुमान र चेतावनी नियमित रूपमा पालना गर्न पनि प्राधिकरणले आग्रह गरेको छ।







