अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा पाँच लाख आठ हजार ४७६ जना विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन्।

आयोजना प्रमुख रवीन कडारियाका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा दुई लाख ७८ हजार ११३ जना पर्यटक आएका थिए। त्यसको तुलनामा गत आवमा पर्यटक संख्या झण्डै दोब्बरले वृद्धि भएको हो। उनले गत आवमा अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमनले नयाँ रेकर्ड कायम गरेको बताए।

गत वर्ष सबैभन्दा बढी भारतीय पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका छन्। तथ्यांकअनुसार तीन लाख ७५ हजार ७९७ भारतीय पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन्। त्यसपछि चीनका १२ हजार ५३९ र अमेरिकाका नौ हजार ८८४ पर्यटक आएका छन्।

आयोजनाको तथ्यांकअनुसार गत आवमा विश्वका १६९ देशका पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए। तीमध्ये दक्षिण एसियाली मुलुकबाट तीन लाख ८४ हजार १४५ र अन्य देशबाट एक लाख २४ हजार ३३१ पर्यटक आएका हुन्।

कडारियाका अनुसार गत जेठ महिनामा भारतसहित दक्षिण एसियाली देशका पर्यटक आगमन करिब ३०० प्रतिशतले बढेको थियो। पोखरा, मुक्तिनाथलगायत क्षेत्रको भारतमा गरिएको प्रवर्द्धन, यातायातको सहजता र सामाजिक सञ्जालमार्फत भएको प्रचारप्रसारका कारण भारतीय पर्यटकको संख्या बढेको उनको भनाइ छ।

गर्मी छल्न भारतीय पर्यटक पोखरा र आसपासका क्षेत्र घुम्न आउने क्रम बढेको छ। वैशाख र जेठ महिनामा पर्यटकीय राजधानी पोखराका होटलको अकुपेन्सी ९० प्रतिशतसम्म पुगेको थियो। मनसुन सुरु हुनुअघिको समयमा पोखरामा भारतीय पर्यटकको चाप बढ्ने गरेको कडारियाले बताए।

पोखरा आउने भारतीय पर्यटकमध्ये करिब ४० प्रतिशत मुक्तिनाथ दर्शनका लागि जाने गरेका छन्। अन्य मुलुकका पर्यटक भने मुख्य रूपमा पदयात्राका लागि अन्नपूर्ण क्षेत्र आउने गर्छन् र केही समय पोखरामा बिताउने गरेका छन्।

अन्नपूर्ण क्षेत्र विश्वकै चर्चित पदयात्रा गन्तव्यमध्ये एक हो। अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै पर्यटक अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र र म्याग्दीको घोडेपानीलगायत स्थानमा पुग्ने गरेका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले यी गन्तव्यमा भ्रमण गर्ने विदेशी पर्यटकको मात्र तथ्यांक संकलन गर्ने गरेको जनाएको छ।

करिब सात हजार ६०० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जीवनशैली र सांस्कृतिक सम्पदाका कारण चर्चित छ। यस क्षेत्रअन्तर्गत कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन्।

पर्यटनमैत्री पूर्वाधार, स्थानीय आतिथ्यता र विविध पदयात्रा मार्गका कारण अन्नपूर्ण चक्रीय पदमार्ग छोटो, मध्यम र लामो दूरीको यात्राका लागि उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।